×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी दिपक महतोले दुःख सुखमा काम लाग्ने आशमा मासिक रुपमा बचत गर्न थाले । उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटस्थित पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मासिक न्यूनतम ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म बचत गर्थे । उनले मुस्किलले कमाएको रकमबाट बचत गरेको रकम ३५ हजार ६ सय रुपैयाँ पुग्यो । 

उनलाई ३५ हजार बचत पुगेपछि १ लाख रुपैयाँ ऋण दिने पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पबन यादवले आश्वासन दिए । यस्तो आश्वासन पाउने दिपक मात्रै एक्लो पात्र हैनन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी अजय कुमार मलीले पनि ४५ हजार पुगेपछि ऋण पाउने आश्वासन पाएका थिए । उनले आफ्नो व्यवसायिक प्रयोजनका लागि ऋण पाउने आशमा ५३ हजार ४ सय रुपैयाँ बचत गरे । साथै ऋणका लागि आवश्यक प्रक्रिया पूरा गरेर कागजपत्र पनि बुझाए । तर उनले ऋण पाएनन् । पाए त केबल आश्वासन र दिनहुँको सास्ती मात्रै । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका चन्दन प्रसाद पटेलको कथा पनि दिपक र अजयको जस्तै छ । उनले पनि ५७ हजार रुपैयाँ बचत गरेका छन् । उनले पनि सहकारीबाट ५० हजार रुपैयाँ बचत पुगेपछि १ लाख रुपैयाँ ऋण (लोन) पाउने आश्वासन पाएका थिए । 

वीरगञ्ज रानीघाटकै शत्रुधन साह रौनियार पनि पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पिडित छन् । ४० हजार बचत गरेमा १ लाख लोन दिने आश्वासन दिने र लोनका लागि कागजपत्र पनि मागेर लोन नदिने गरेको दुखेसो माथिका सहकारीबाट पिडितले यात्रा डेलीको कार्यलमै आएर सुनाए । उनीहरुले भने, ‘हामीलाई खाली भोली भोली भनेर टार्ने गरेको छ । फागुन २६ गते नै रकम दिने भनेर चेकबुकमै हस्ताक्षर गरेको १२ दिन बित्दा पनि नदिएको उनीहरुले बताए । लोनका लागि आवश्यक कागजपत्र पनि माग्ने तर लोन दिने बेलामा पटकपटक मिती सार्दै दुःख दिने गरेको उनीहरुको गुनासो छ । 

यात्रा डेलीको कार्यलयमा पुगेका ६ जना बचतकर्ता मात्रै सहकारीबाट पिडित छैनन् । अन्य बचतकर्ता पनि रानीघाटस्थित सहकारीको कार्यालय परिसरमै पुगेर रकम पाउनुपर्ने माग गरीरहेका छन् । तर सहकारीका कर्मचारीले बचतकर्तालाई रकम नदिई आलटाल मात्रै गर्ने र झुलाउने गरेको बचतकर्ताहरुको गुनासो छ । 

भारतबाट २ करोड रुपैयाँ आउने छ, त्यसपछि तपाईहरुलाई दिन्छौँ भनेर सहकारीका रघु सहनीले झुलाउने गरेको बचतकर्ता दिपक महतोले बताए । उनकाअनुसार बचतकर्ताको चेकबुक पनि सहकारीले नियन्त्रणमा लिएको छ । 

सहकारीका सञ्चालक पबन यादवको सम्पर्क नम्बर ९८१२२७४००४ मा पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । त्यस्तै सहकारीले बचतकर्ताको चेकबुकमा उपलब्ध गराएको ९८०९२७७७८५ नम्बरमा पनि सम्पर्क भएन । 
 

Back to top