×

बीरगन्ज – गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।

विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको हात भाँचिदिने, राष्ट्रसेवक महिला कर्मचारीलाई कार्यकक्षमै गएर अभद्र व्यवहार गर्ने र गाउँमा झैझगडाको माहौल निम्त्याई राख्ने जस्ता दर्जन बढी गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरुलाई पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले विभिन्न खाले दबाबलाई चिर्दै पक्राउ गर्न लगाएकी हुन् ।

स्थानीय राजनीतिक समीकरण र जोडघटाउमा कहिले यता र कहिले उता भएर गैरकानुनी र गैरसामाजिक कार्य गर्दै आएका व्यक्तिहरुमध्ये सन्जय कुमार साह गाेंढ र रन्जीत कुमार साह गोंढ जोगिदैं आएका थिए । यिनीहरुका मुख्य नाइके धुव्र साह गाेंढ भने यसपटक पनि दशगजा कट्न सफल भएका छन् । दर्जन बढी मुद्दा यिनीहरु उपर दायर भएपनि यसअघि गिरोह नै उम्किदंै आएको थियो ।

पछिल्लो समयमा चुस्तदुरुस्त भएको पर्सा प्रहरी यसपटक भने यीमध्ये दुई जनालाई ज्याँक्न सफल भएको छ । यसले गर्दा जनमानसमा शान्तिको प्रत्याभुति भइरहेको छ ।

तर सँगसँगै भित्री रुपमा मुद्दा मिलाउन र पक्राउ परेका दोषीहरुलाई छुटाउन चलखेल भइरहेको बुझिएको छ । उनीहरुलाई छुटाउन विभिन्न माध्यमहरुको प्रयोग भइरहेको बुझिएको छ । स्मरण रहोस्, पक्राउ परेका व्यक्तिहरुले गत आर्थिक वर्षमा स्थानीय महिलाहरुको समस्या बुझ्न र सचेतना अभिवृद्धि गर्न पुगेका राष्ट्रिय सन्चारमाध्यममा काम गर्ने दुई जना पत्रकार महिलालाई समेत स्थानीय विद्यालयको कोठामा थुनेर बन्दक बनाएका थिए । गाउँमा यस्ताखाले गतिविधि बढेपछि कालिकामाई गाउँपालिका वडा नं. ४ परशुरामपुरका वडा अध्यक्ष हरिओम साहले उनीहरुलाई सम्झाई बुझाई गर्न खोज्दा उनीमाथि नै ती व्यक्तिहरु खनिएका थिए ।

“उहाँहरुसँग मेरो व्यक्तिगत दुश्मनी केही पनि छैन, गाउँ समाजमा शान्ति होस् र विकास निर्माणका गतिविधिमा कुनै बाधा नपुगोस् भन्ने मेरो ध्येय छ,” वडाध्यक्ष साहले भने, “मैले धेरै प्रयास गरे तर गाउँ समाजमा उहाँहरुको गतिविधिमा सुधार भएन । अहिले कानुनी माध्यमले उपचार होस् भन्ने हामीले चाहेका छौं ।” विकास निर्माणको गतिविधिमा गुणस्तरको सवाल ती व्यक्तिहरुले उठाएपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु कुमार साहको नेतृत्वमा खटेको प्राविधिकसहितको अनुगमन टोलीले स्थलगत जाँचबुझ गरेको थियो ।

परिक्षण गरिरहेको बेला घनले हान्दा पनि ढलान सडक नफुटेको भिडियो सामाजिक सन्जालमा त्यतिबेला भाइरल भएको थियो । त्यो प्रयास तुहिएपछि गत असार २९ गते उनीहरुले लाटीफाटासहित गाउँमा निर्वाचित जनप्रतिनिधि लगायतलाई कुटपिट गर्नुका साथै आतंक मच्चाएपछि यी दुई व्यक्ति पक्राउ परेका हुन् र यिनीहरुलाई छुटाउन अहिले दलालहरु सक्रिय भएका छन् ।

Back to top