×

वीरगन्ज २७ साउन । भारत सरकारले जम्मु–कश्मीरको विशेष दर्जा खोस्दै केन्द्रको शासन लागू गरेपछि नेपालका मधेश केन्द्रित दुई क्षेत्रीय दलहरूले फरक–फरक धारणा सार्वजनिक गरेका छन् ।

हाल सत्तामा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले जम्मु–कश्मीरमा भारतले लिएको निर्णय गलत रहेको जनाउँदै त्यसबारे सबैले बोल्नुपर्ने उल्लेख गरेका हुन् ।

डा. भट्टराईले विधुतीय सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–”कश्मीर घटना दुरगामी महत्त्वको छ । राज्य–राज्य बीचको सम्बन्धबारे बोल्दा कुटनीतिक बन्नुपर्ला । तर, लोकतन्त्र, आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता, संघीय शासन, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता मानव जातीका साझा मुद्दा हुन् । तिनको हनन् जहाँ जसले गरेपनि बेठीक हो र त्यो सबैले भन्न सक्नुपर्छ ।”

हाल प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले नेपाल एक भारतको नीतिमा उभिनुपर्ने बताएका छन् ।

शनिवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा यादवले जसरी नेपाल एक चीन नीतिमा उभिएको छ, त्यसरी नै एक भारतको नीतिमा पनि उभिनुपर्ने बताए ।

दुवै पार्टीका नेताहरुले जम्मू–कश्मीरमा भएको पछिल्लो घटनाबारे बोलेपनि ती पार्टीहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

Back to top