×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै राजनीति वृत्त गर्माएको छ । 

(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र विभक्त भएर बनेको जसपाका अध्यक्ष अशोक राई दुवै पक्षले सरकारलाई समर्थन दिएपछि विभाजन हुनुको अर्थ के हो भन्ने कौतुहलता उत्पन्न भएको छ ।

यता उच्च स्रोतहरूका अनुसार पार्टी विभाजनको नेतृत्व गरेका अशोक राईलाई उपप्रधानमन्त्री बनाइने आश्वासन दिइएको छ । रञ्जु झा, प्रदीप यादव र वीरेन्द्र महतो पनि मन्त्री बन्ने देखिएका छन् ।

नवलकिशोर साह पनि उपप्रधानमन्त्रीको आकाङ्क्षी रहेको बताइएको छ । राईले आफूलाई नभए श्रीमती सुशीला श्रेष्ठलाई सरकारमा सहभागी गराउने तयारीमा छन् ।

सरकारबाट बाहिरिँदा जसपालाई अवसर मिल्ने भएकाले अध्यक्ष यादव तत्काल सरकारबाट नबाहिरिने बताइएको छ । 

पार्टी बनेको तेस्रो दिन नै सांसदहरूले मन्त्रीका लागि पहल गर्न फरक फरक ढङ्गले राई माथि दबाब दिन थालेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले उनीहरूलाई सरकारमा सहभागी नगराउन प्रधानमन्त्री प्रचण्डलाई दबाबमूलक आग्रह गरिसकेका छन् ।

विभाजित भएका सांसदहरूले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने षडयन्त्रमा अध्यक्ष यादव लागेकाले गठबन्धन जोगाउन पार्टी विभाजन गरेको बताउँदै आएका छन् । गठबन्धन छाड्ने हल्ला निराधार र सर्वसाधारणमा भ्रम फैलाउने दुष्प्रयास गरिएको अध्यक्ष यादवले सफाइ दिइसकेका छन् । 
अध्यक्ष यादवले बुधवार बिहान कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

संसदीय दल विभाजनसँगै गठन भएको जसपाको प्रभावलाई रोक्न जसपा नेपालले प्रदेश र जिल्ला स्तरमा सङ्गठनका नेताहरूलाई सक्रिय बनाएको छ ।

मधेस प्रदेश समितिको मङ्गलवार बैठक सम्पन्न भएको छ । मधेस प्रदेशका प्रदेशसभा सदस्यहरू संस्थापन पक्षमा नै रहने दृढता व्यक्त गरेका छन् । उनीहरूले नितान्त व्यक्तिगत स्वार्थका लागि पार्टीबाट अलग्गिएका अशोक राई लगायतका नेताहरूको राजनीतिक भविष्य नै समाप्त भएको टिप्पणी गरेका छन् ।

Back to top