×

नेपाल सिमेन्टमा आत्मनिर्भर भई निर्यात गर्ने अवस्था बनिसक्दा बारा पर्सा ब्यापारिक मार्गका झण्डै एक दर्जन सिमेन्ट उद्योग भने संकटमा पर्न थालेका छन् ।

आन्तरिक प्रतिस्पर्धा गर्न नसक्दा पछिल्लो समय यस क्षेत्रका सिमेन्ट उद्योगहरु संकटमा पर्न थालेका हुुन् ।

कच्चा पदार्थको आयातमा ढुवानी लागत महङ्गो हुनु, बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्नु लगायत कारण उद्योगको उत्पादनमा संकट देखिएको हो । यस क्षेत्रका अधिकांस उद्योगको आफ्नै खानी नभएकाले सबै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ । आफ्ने खानी भएका अन्य क्षेत्रका सिमेन्ट उद्योगहरुसंग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको उद्योगीहरुको गुनासो छ ।

विगत ६ महिना यता एकाएक सिमेन्टको बजारमा मूल्य खस्कदै गएपछि आफै क्लिंकर उत्पादन गर्ने खानी रहेका उद्योगसंग प्रतिश्पर्धा गर्न यहांका उद्योगहरु समस्यामा पेका हुन् ।

यस ब्यापारिक मार्गमा विश्वकर्मा, अम्बे, त्रिशक्ति, आरएमसी, रिलायन्स, कृष्ण, अरनिको, स्टार, शालिमार, लगायत १३ वटा सिमेन्ट उद्योग संचालनमा छन् । यहाँंका उद्योगहरुले दैनिक २० हजार टन सिमेन्ट उत्पादन गर्न सक्ने भएपनि हाल माग घट्नाले उत्पादन समेत घटाउनु परेको शालिमार सिमेन्टका सञ्चालक अशोक बैद्यले बताए ।

भारतीय क्लिकरमा निर्भर रहेका यहाका उद्योगले उत्पादन खर्च घटाउन नसक्दा आन्तरीक बजारमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाई छ । एउटा प्लान्ट बाट सय टन उत्पादन गर्ने उद्योगहरु सातामा एक-दुई दिनमात्र चल्ने गरेको उद्योगी बैद्यले बताए ।

‘भारतीय रेलवेले २०७४ पुस ७ देखि वीरगञ्ज–रक्सौलको रेलवे यार्डमा क्लिंकर लोड–अनलोड बन्द गरेपछि आयातकर्ताले अहिले कच्चापदार्थ १२५ किलोमिटर टाढाको नारायणपुरबाट ढुवानी गर्न बाध्य छौँ । जसका कारण ४० प्रतिशत ढुवानी भाडा महङ्गो हुन गएको छ ।’ उनका अनुसार हाल यस क्षेत्रमां सञ्चालित प्राय सवै सिमेन्ट उद्योग घाटामा छन् ।

Back to top