×

वीरगञ्ज २२ जेठ । सरकारले तयारी सोयाबडीको कच्चा पदार्थको आयात शुल्क वृद्धि गरेर उत्पादनमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएपछि स्वदेशी उद्योगहरू बन्द हुन थालेका छन् । सरकारले सोयाबडीमा भ्याट लिने व्यवस्था गरेसँगै वीरगञ्जको विद्या फूड प्रोडक्ट्स्ले आफ्नो उत्पादन बन्द गरेको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको भोलिपल्टै उत्पादन बन्द गरेको उद्योगका सञ्चालक गणेशप्रसाद लाठले बताए । कच्चा पदार्थ भटमासको पिनाको आयातमासमेत कृषि सुधार शुल्क बढाइएको छ । ‘अब भारतबाट आउने सोयाबडीसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था भयो,’ उद्योगी लाठले भने, ‘प्रतिस्पर्धामा टिक्नै नसक्ने भएपछि उद्योग बन्द गर्नुको विकल्प रहेन ।’

सरकारले स्वदेशी उद्योगबाट उत्पादित सोयाबडीमा भ्याट लगाएको छ । यसअघि यसमा भ्याट थिएन । कच्चा पदार्थ भटमासको पिनामा लाग्ने कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्‍याइएको छ । सरकारले कृषि सुधार शुल्क र भ्याट गरी १६ प्रतिशत करको भारी थपेको मोहित फुड प्रोडक्ट्स्का सञ्चालक सुवोध गुप्ताले बताए ।

सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए पनि गरीब जनताले तरकारीको रुपमा उपभोग गर्ने उत्पादनमा भ्याट लगाएको भन्दै आलोचना भएको छ । करको अन्तिम भार उपभोक्तामाथि नै पर्ने भएकाले न्यून आयस्तर भएका जनताले बढी उपभोग गर्ने अत्यावश्यकीय खाद्य बस्तुमा भ्याट लगाउन नहुने नेपाल चामल तेल दाल एसोसिएसनका अध्यक्षसमेत रहेका गुप्ताको भनाइ छ ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बनेका प्रदीप यादवले पनि आर्थिक विधेयक २०७६ माथि टिप्पणी गर्दै सोयाबडी र पिठोमा लगाइएको भ्याट फिर्ता लिन माग गरेका छन् । यस्तो करले गरीब जनता मारमा पर्ने भन्दै सांसद यादवले तत्काल सच्याउन आग्रह गरे । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरे पनि नीतिगत रुपमा त्यसको अभास हुन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।

न्यून आयस्तर भएका जनाताले उपभोग गर्ने खाद्यबस्तुमा राजस्व बढाएर उत्पादन निरुत्साहित हुने केडियाले दाबी गरे । ‘एकातिर आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने भनिएको छ, अर्कातिर सरकारी नीतिका कारण स्वदेशी उद्योगधन्धा बन्द हुने अवस्था छ,’ उनले बताए ।नेपालमा वार्षिक रू.१ अर्ब बराबरको सोयाबडीको कारोबार रहेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका उद्योगी लाठले बताए ।

अहिलेसम्म नेपाली बजारमा सोयाबडी आयात नभएको वीरगञ्ज भन्सारले बताएको छ । कृषि सुधार शुल्क र भ्याट लागेपछि अब भारतीय उत्पादनको अनधिकृत आयात बढ्ने दाबी उद्योगीहरूको छ । भन्सारले सोयाबडीमा २० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट तोकेको छ । नेपालमा तुलनात्मक सस्तो उत्पादन हुँदा आयात भएको थिएन ।

४० को हाराहारीमा रहेका स्वदेशी उद्योगले माग धानेका थिए । उद्यमीहरू उद्योगको लगानी डुब्ने चिन्तामा परेको गुप्ताले बताए । नयाँ व्यवस्थाले स्वदेशी उत्पादनमा राजस्वको भार २३ प्रतिशत पुगेपछि भारतबाट अवैध आयात बढ्ने उद्योगीहरू बताउँछन् । भारतीय सीमा क्षेत्रबाट अनधिकृत ढुवानीको खर्च १० देखि १५ प्रतिशतमात्र पर्ने भएपछि अवैध पैठारी बढ्ने दाबी उनीहरूले गरेका छन् ।

Back to top