×

वीरगन्ज ३१ असार वीरगञ्ज र सीमावर्ती भारतीय राज्य विहारमा देखिएको मूल्यअन्तरका कारण केही महिनायता मुख्य नाकाबाटै भारततिर पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ । वीरगञ्ज र आसपासका क्षेत्रमा खुलेका पेट्रोलपम्प र ट्याङ्कर व्यवसायीसमेतको मिलेमतोमा डिजेल र पेट्रोलको तस्करी बढेको हो । नियमनकारी निकायको फितलो निगरानी र नाकामा प्रभावकारी चेकजाँच नहुँदा नेपाल आयल निगमले भारतबाट ल्याएको तेल तस्करी भएर भारततिरै जाने गरेको छ । सीमावर्ती भारतीय बजार राज्य विहारमा पेट्रोलियम पदार्थको मूल्य वीरगञ्जको तुलनामा बढी भएकाले मुख्य नाकाबाटै तस्करी बढेको हो ।

कुल पेट्रोलियम आयातमध्ये आधाभन्दा बढी परिमाण वीरगञ्ज नाकाबाटै भित्रिन्छ । नेपाल आयल निगमले वीरगञ्जबाट भारततर्फ डिजेल र पेट्रोलको तस्करी भइरहेको स्वीकार गरेको छ । निगमले आप्mनो वेबसाइटमा राखेको सञ्चार सामग्रीमा रक्सौलभन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर २१ रुपैयाँ ६१ पैसा र डिजेल २४ रुपैयाँ १९ पैसा सस्तो रहेकाले ‘आपूर्ति व्यवस्थामा चुनौती’ रहेको उल्लेख गरेको छ ।

अहिले वीरगञ्जमा पेट्रोलको विक्री मूल्य १ सय ८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा छ । यही मूल्य अन्तरका कारण नेपालमा आएको डिजेल र पेट्रोल तस्करी भएर भारतीय क्षेत्रमा पुग्ने गरेको छ । डिजेलको सबैभन्दा बढी तस्करी भइरहेको छ । डिजेलमा निगमलाई प्रतिलिटर ६७ पैसा घाटा छ । घाटामा बेचिएको डिजेल तस्करी भएर भारततर्फ पुग्दा यसले निगमको घाटालाई बढाइरहेको निगमका अधिकारीहरू बताउँछन् । प्रत्येक १५ दिनमा ३ करोड ६२ लाख रुपैयाँ घाटा भइरहेको निगमको दाबी छ ।

वीरगञ्ज नाकाबाट दैनिक ३ सय ट्याङ्कर पेट्रोलियम पदार्थ आयात हुन्छ । तीमध्ये १ सयजति भारतीय आयल निगमको बरौनी डिपोबाट आउँछन् । अन्य रक्सौल डिलोबाट लोड हुने तथ्याङ्क वीरगञ्ज भन्सार कार्यालयसित छ । भारतका विभिन्न स्थानबाट मालसामान बोकेर आउने गाडीले फर्किँदा वीरगञ्जबाट इन्धन ट्याङ्कीमा डिजेल भरेर लैजान्छन् । यो नाकाबाट दैनिक २ हजारभन्दा बढी ढुवानीका साधन आवतजावत हुन्छन् । तीमध्ये अधिकांश भारतीय साधन हुने भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए ।

रक्सौलबाट इन्धन र अन्य मालसामान बोक्ने गाडीको सङ्ख्या ४ सयजति छ । आवतजावतमध्ये आधामात्र फर्किने गाडीको सङ्ख्या मान्दा वीरगञ्ज र आईसीपीबाट दैनिक ७ सय गाडी भारततर्फ जान्छन् । एउटा गाडीको इन्धन ट्याङ्कीमा २ सय ५० देखि ३ सय ५० लिटरसम्म इन्धन अटाउँछ । ७ सय गाडीले नेपालबाट औसत ३ सय लिटरका दरले तेल भरेर लैजाँदा पनि वीरगञ्ज नाकाबाट मात्र दैनिक २ लाख लिटरभन्दा बढी डिजेल भारततिर लैजान्छन् ।

वीरगञ्जका पेट्रोल पम्पहरूमा पेट्रोल भर्न भारतीय साना गाडी र मोटरसाइकलको भीड लाग्ने गरेको छ । निगमले पेट्रोलियम तस्करी नियन्त्रणका लागि भारतीय हलुका गाडीलाई ५०, १० चक्केलाई १ सय र त्योभन्दा ठूला गाडीलाई १ सय ५० लिटरभन्दा बढी तेल नदिन निर्देशन दिए पनि पालना नभएको निगमको वीरगञ्ज कार्यालय प्रमुख जगदीशचन्द्र यादवले बताए । भारतीय ढुवानीका साधनले डिजेल भरेर लैजाने गरेको यादवले स्वीकार गरे । ‘हामीले पेट्रोल पम्प सञ्चालकलाई निर्देशन दिएका छौं । तर, गाडी चालकले पम्पैपिच्छे डिजेल भर्न सक्ने भएकाले चुनौती देखिएको छ,’ उनले भने ।

Back to top