×

वीरगंज ७ माघ प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गरिने भएको छ । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको संघर्ष समितिको शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । ७ गते हुने वीरगञ्ज महानगरपालिकाको पहिलो नगर सभा उद्घाटनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आउने पूर्व निर्धारित कार्यक्रमलाई लक्षित गरेर यादवलाई संघर्ष समितिले वीरगन्जमा प्रवेश निषेध गर्ने निर्णय गरेका छन । माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेर वीरगञ्जप्रति कुठाराघात गरेको संघर्ष समितिको ठहर छ । बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउनका लागि गाउँ गाउँमा अभियान परिचालन गर्ने निर्णय समेत गरेको छ । संघर्ष समितिका सहसंयोजक एवं पूर्वसभासद राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय गरेको कांग्रेसका युवा नेता अरविन्द गुप्ताले जानकारी दिए । ‘वीरगञ्ज विविध खालको आन्दोलनको केन्द्र हो, वीरगञ्जलाई प्रदेशिक राजधानी बनाउनुपर्छ भन्ने आम मानिसको चाहना पनि छ,’ संघर्ष समितिका सहसंयोजक गुप्ताले भने, ‘अब आन्दोलनको बलबाट नै प्रदेशको अस्थायी मुकाम जनकपुरबाट फिर्ता गराई वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

Back to top