×

वीरगन्ज ३ माघ भारतीय रेल्वे निगमले रक्सौल यार्डमा क्लिंकर लोड अनलोड गर्न रोक लगाएपछि नेपालका सिमेन्ट उद्योगीहरू समस्यामा परेका छन् । रेलमार्गबाट क्लिंकर आयात बन्द भएपछि आयातीत क्लिंकरमा आधारित स्वदेशी सिमेन्ट उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योगीहरू बताउँछन् ।

‘रेलमार्ग बन्द भएपछि स्थल मार्गबाट क्लिंकर ल्याउन सकिँदैन,’ उनीहरू भन्छन्, ‘स्थलमार्गबाट क्लिंकर ल्याउँदा आयातमै प्रतिकिलो २ रुपैयाँ बढी पर्न जान्छ ।’ भैरहवा र विराटनगर हुँदै क्लिंकर ल्याउँदा सिमेन्टको उत्पादन लागत अझै महँगो पर्ने उद्योगीहरू बताउँछन् । ‘अहिले नै सिमेन्टको भाउ १ सय रुपैयाँ बढिसकेको छ । स्थलमार्ग हुँदै ल्याउँदा मूल्य अझै बढ्न सक्छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सिमेन्ट उद्योगी अशाेक बैधले भने । रक्सौलका बासिन्दाले क्लिंकरलगायत सिमेन्ट उद्योगका कच्चा पदार्थले प्रदूषण बढेको भन्दै विरोध जनाएपछि भारतले एकपक्षीय रूपमा रक्सौल यार्डमा क्लिंकरलगायतका औद्योगिक कच्चा पदार्थ आयातमा रोक लगाएको हो ।

भारतीय पक्षले क्लिंकर आयात रोकेका कारण नेपाली व्यवसायीलाई करोडौँको नोक्सानी भइरहेको वीरगन्ज उद्योग वणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए । ‘प्रदूषण नियन्त्रणको उपाय अवलम्बन गर्नुको साटो भारतीय पक्षले अचानक रक्सौल यार्डमा क्लिंकर आयात निर्यात रोकिदियो,’ उनले भने ।

तर, नेपाल सरकारले सिमेन्ट उद्योगमा देखिएको समस्या समाधान गर्न गम्भीर नभएको शालिमार सिमेन्ट उद्योग प्रालिका सञ्चालक एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का उपाध्यक्ष अशोक वैद्यको आरोप छ ।

‘भारतीय पक्ष रक्सौल यार्डमा प्रदूषण नियन्त्रणको मापदण्ड अपनाएर ६ महिनासम्म रक्सौल यार्ड खोल्न तयार छ, नेपालले एलओई दिनेबित्तिकै आवश्यक पूर्वाधार बनाउन उनीहरू तयार छन्,’ उनले भने, ‘तर, नेपाली सरकार समस्या समाधानका लागि गम्भीर देखिएको छैन ।’ नेपाली पक्ष गम्भीर नभएकै कारण अर्बौंकोे लगानी, हजारौँको रोजगारी र करोडौँ राजस्व पनि गुमेको उनको भनाइ छ ।

नयाँ विकल्पमा जान सुझाब

भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँग परामर्श गरी डिसेम्बर २२ मा क्लिंकरको कार्गो सीधै वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अनलोड हुने बताएको थियो । त्यसका लागि १५ दिनमा कन्कोरले सुक्खा बन्दरगाहमा आवश्यक प्रबन्ध मिलाउने बताएको थियो । तर, हालसम्म त्यस्तो केही हुन सकेको छैन । तर, वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले क्लिंकर आयातको समस्या निर्मूल हुने वातावरण बनाउनुपर्ने बताउँछन् ।

‘क्लिंकर आयात क्रमशः बढ्दै गएको देखिन्छ, त्यसको व्यवस्थापनका लागि नेपालमा निजी क्षेत्रकै बन्दरगाह हुँदा राम्रो हुन्छ,’ उनले भने, ‘त्यसको नेतृत्व निजी क्षेत्रले लिन सक्नुपर्छ, माथिल्लो निकायमा पहल गर्न हामी तयार छौँ ।’ निजी क्षेत्रले वीरगन्ज वा सीमा क्षेत्रमै जग्गा लिएर बन्दरगाह बनाएर औद्योगिक कच्चा पदार्थ आयात गर्नेतर्फ सोच्नुपर्ने उनको भनाइ छ ।

समस्या समाधान गर्ने अर्थ राज्यमन्त्रीको आश्वासन

क्लिंकर आयातलाई व्यवस्थित गर्न सरकार गम्भीर रहेको अर्थ राज्यमन्त्री उदय शमशेर राणाले बताएका छन् । ‘क्लिंकर आयातमा देखिएको समस्याकै कारण सिमेन्टको भाउ बढेको छ,’ उनले भने, ‘भूकम्पपीडितको घर बन्न लागेको समयमा निर्माण सामग्रीको भाउ बढ्नु राम्रो होइन । समस्या लामो समय राख्नुहुन्न ।’ डस्टी कार्गोले प्रदूषण गर्ने भएकाले तत्काललाई अल्पकालीन र दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

Back to top