×

वीरगंज,२८ पुस । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले शैक्षिक मुद्दामा विभिन्न सातबुँदे माग गर्दै वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन कार्य शुरु गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी रुपमा वीरगंजमा पनि विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको हो । १२ बजे देखि शुरु भएको कार्यक्रममा सयौ जनाले हस्ताक्षर गर्नेक्रम जारी रहेको र माघ २ गते सम्म हस्ताक्षर अभियान जारी रहने विद्यार्थी नेता दिलिपराज कार्कीले बताए । संघले सारेको माग प्रति सर्वसधारणले समर्थन जनाउँदै हस्ताक्षर गरिरहेका हुन् ।

नेपालको संविधान २०७२ को भाग ३ को दफा ३५ बमोजिम हरेक नेपालीले स्वस्थ रहन गरिएको व्यवस्था अनुसार विद्यार्थाीको निःशुल्क स्वास्थ्य विमा गराउनु पर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर कुनै पनि बैंकबाट सहजै ऋण पाउनु पर्ने ७ वटै प्रदेशमा मेडिकल कलेजको स्थापना, ७७ जिल्लाको हरेक स्थानीय तहमा एउटा प्राविधिक कलेजको स्थापना तथा हरेक विद्यालयामा ई–लाइब्रेरीको व्यवस्था सरकारले गर्नुपर्ने माग राखेका छन् ।

नेपाल विद्यार्थी संघले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई मागको सम्बन्धमा ज्ञापन पत्र बुझाए । हस्ताक्षर अभियानमा विद्यार्थी संघका केन्द्रीय सदस्य सुधिर पटेल, बद्री तिवारी, दिलीप कार्की रामनिवास यादव, राकेश कुशवाहालगायतको अभियानमा सहभागिता थियो ।

Back to top