×

राम सर्राफ वीरगञ्ज प्रदेश नं.२ को एकमात्र महानगरपालिका वीरगञ्जलगायत पर्सा जिल्लाको सम्पूर्ण स्थानीय तहमा हर्षोलासका साथ उम्मेदवार मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जिल्लाको १४ वटै स्थानीय तहमा उल्लासमय हिसाबले उम्मेदवार मनोनयन दर्ता भएको जानकारी दिए ।

विभिन्न राजनीतिक दलले शक्ति प्रदर्शन गर्दै बाजागाजासहित मनोनयन दर्ता गराउन आएकाले साँझसम्म मनोनयन दर्ता गरिएको थियो । महानगरको प्रमुखमा १४ र उपप्रमुखमा ११ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सबैभन्दा पहिला संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगीले प्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । सो दलबाट उपप्रमुखमा पिंकी यादवको मनोनयन परेको छ । त्यसपछि नेकपा माओवादी केन्द्रका रहवर अन्सारीले प्रमुख र उपप्रमुखमा दुर्गा क्षेत्रीले मनोनयन दर्ता गराउन पुगेका थिए ।

नेपाली कांग्रेसका तर्फबाट मेयरमा अजयकुमार द्विवेदी र उपपमेयरमा शान्ति कार्कीको उम्मेदवारी परेको छ । द्विवेदी नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति हुन् भने शान्ति कार्की पार्टीमा लामो समयदेखि संघर्ष गरेकी नेतृ हुन् । जिल्ला समन्वय समितिमा निर्वाचनको कार्यालय राखिएको थियो ।

नेकपा एमालेबाट प्रमुखमा बसुरुदिन अंसारी र उपप्रमुखमा सोफिया आचार्यको उम्मेवारी परेको छ ।

महानगरपालिकाको प्रमुखका लागि राष्टिय जनता पार्टी नेपालका तर्फबाट राजेशमान सिंहको मनोनय परेको छ ।

सो दलबाट उपप्रमुखमा रम्भा मिश्रले उम्मेदवारी दर्ता गराएकी छन् । फोरम लोकतान्त्रिकबाट प्रमुखमा विमलप्रसाद श्रीवास्तवको उम्मेदवारी दर्ता भएको छ भने उपप्रमुखमा रिंकु यादवले मनोनयन दर्ता गराएकी छन् ।

प्रमुखमा महम्मद राजा, लक्ष्मण साह तेली र देवकी दासलालगायत ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपप्रमुखमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मधेसका ८ जिल्लाका कुल १ सय ३६ स्थानीय तहका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइसकेको छ ।

Back to top