×

वीरगन्ज ३० जेठ राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आमहड्तालका कारण मध्य–पूर्वका आठ जिल्ला ठप्प छन् । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेको छ ।

यी जिल्लाका मुख्य बजार सञ्चालनमा आउन सकेका छैनन् भने यातायातका साधनसमेत चल्न सकेका छैनन् । बन्द सफल बनाउन राजपाका स्थानीय नेता, कार्यकर्ता चोक–चोकमा बसेर प्रदर्शन गरिरहेका छन् ।

बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन नसेकेपछि यात्रुहरु अलपत्र परेका छन् । बन्दको असर शैक्षिक संस्थाहरुमा समेत परेको छ ।

बन्दका क्रममा हुने सम्भावित झडपलाई मध्यनजर गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेका छन् ।

आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गरी चरणवद्ध आन्दोलनको घोषणा गरेको राजपा नेपालले आजदेखि असार २ गतेसम्म मधेस, थरुहट र लिम्बुवान बन्दको आह्वान गरेको हो ।

राजपाले आह्वान गरेको आमहड्तालको पहिलो दिन विराटनगरमा भने प्रभाव न्यून देखिएको छ ।

विराटनगरमा छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधन पूर्णरुपमा सञ्चालनमा छन् भने बजार कलकारखना पनि खुल्ला छन् ।

Back to top