×

फाइल तस्बिर ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजयकुमार सरावगीले नेकपा एमालेबाट राजीनामा दिएका छन् । नेकपा एमालेको केन्द्रीय समितिका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै शुक्रवार सरावगीले पार्टीबाट राजीनामा दिएका हुन् । 

२०७८ साल मङ्सिरदेखि सक्रिय रूपमा एमाले पार्टीमा लागे पनि पार्टीको केन्द्रीय सल्लाहकारमा मनोनीत गरिएको प्रति उनको असन्तुष्टि राजीनामा पत्रमा देखिन्छ । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘हाल मलाई पार्टीको केन्द्रीय सल्लाहकार पदमा मनोनीत गरिएको छ । म सक्रिय राजनीतिमा लागेपछि पार्टीभित्र मेरो हैसियत अनुसारको भूमिका रहने अपेक्षा मैले लिएको थिएँ ।’ 

केन्द्रीय सल्लाहकारमा राखेर पार्टीले राजनीतिमा सक्रिय भन्दा पनि निष्क्रिय बनाएर राख्ने अवस्था देखिएकाले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सरावगीले उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्न पनि अनुरोध गरेका छन् । राजीनामा स्वीकृत भएसँगै स्वतन्त्र रूपमा जनताको बिचमा गएर काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।

सरावगीले कुनै दलमा नलाग्ने बताए पनि उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ । सरावगीले यसअघि गत बुधवार नै आफूले एमाले छाड्ने मनसाय बनाएको बताएका थिए ।

नेपाली काँग्रेसबाट राजनीति सुरुवात गरेका सरावगी २०७४ को निर्वाचन अगाडि एकाएक तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । प्रवेश गरेको केही दिन भित्रै भएको स्थानीय तहको निर्वाचनमा पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनी उनी निर्वाचित पनि भए । यद्यपि पार्टी भित्र उनको असन्तुष्टि बढ्दै गएको कारण गत स्थानीय तह निर्वाचन अगाडि उनले पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । 

एमाले प्रवेश गरेर उनी पुनः वीरगञ्ज महानगरको मेयरको उम्मेदवार बने तर यस पटक उनलाई जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले पराजित गरे । त्यसपछि उनी एमाले मै रहेका थिए ।

May be a doodle of ticket stub and text

Back to top