×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । मधेस प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०८०/ ८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।साथै आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन् । 

आगलागीबाट सबैभन्दा बढी धनुषामा छ जना, सिराहामा पाँच जना, रौतहटमा तीन जना, बारामा दुई जना, पर्सा ,महोत्तरी तथा सर्लाहीमा एक/एक जनाको मृत्यु भएको हो ।

त्यसै गरी आगलागीबाट दुई सय ९६ वटा पशु चौपाया जलेर मरेको छ भने एक सय १४वटा पशु चौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए ।

कार्यालयका अनुसार आगलागीबाट मधेस प्रदेशको आठ वटा जिल्लामा एक हजार १० घर गोठ जलेर नष्ट भएको तथा एक हजार दुई सय ६६ वटा आगलागीको घटना भएको हो ।

आगलागीबाट जलेका एक हजार १० घर गोठ अन्तर्गत कच्ची घर छ सय ६९, पक्की घर ८८ तथा गोठ दुई सय ५३ रहेका छन् । प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिराहामा दुई सय २९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा एक सय ११ वटा भएको हो । महोत्तरीमा एक सय ९२ वटा, बारामा एक सय २९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा एक सय ९४ घर गोठ जलेर नष्ट भएको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ । प्रवक्ता बोहराका अनुसार चर्को घाम, गर्मी, तातो हावा , पानीको अभाव, घना बस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगालागिको घटना भएको उल्लेख गर्दे आगलागीबाट सुरक्षित तथा सतर्क रहन सबैलाई आग्रह गर्नुभएको छ । आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको बताइएको छ ।

Back to top