×

मधेसका मुख्यमन्त्री सरोजकुमार यादव । फाइल तस्बिर ।

वीरगञ्ज । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेस प्रदेश सरकार सङ्कटमा परेको छ । मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन् । 

पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेसमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन हम्मे परेको छ । एमाले र माओवादी केन्द्रले भने मधेसमा नयाँ सरकार बनाउन कसरत सुरु गरिसकेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूबिच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङ गरिरहेका छन् । त्यसो त अहिले जसपा विभाजनको असर मधेसमा कस्तो पर्छ भन्ने प्रस्ट भइसकेको छैन । १ सय ७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए ।

जसअनुसार हाल विपक्षमा काँग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल सङ्घीय समाजवादी पार्टीका १ सांसद छन् । त्यस आधारमा यहाँ ४६ सांसद छन् । जसपा नेपालमा भएको विभाजनपछि मधेसमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन । जसपा विभाजनले आउने परिणामले नै मधेसमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले एमाले र माओवादी केन्द्रबिच नयाँ सरकार गठनका लागि छलफल सुरु भएको बताए । ‘अहिले प्रारम्भिक छलफल भएको छ । नेतृत्व कसले लिने भन्नेबारेमा छलफल गरिरहेका छौँ,’ बिहीबारको छलफलपछि उनले भने, ‘केन्द्रका नेताहरूको समेत राय बुझेर अघि बढ्छौँ ।’

प्रदेशमा एमाले र माओवादीले सरकार छोड्ने तयारी गरे पनि केन्द्रमा भने जसपा नेपालका अध्यक्ष यादवले सरकार छोड्ने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेका छैनन् । उनले बुधवार पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारले पार्टीले दिएको समर्थन कायम रहने बताएका थिए । तर बिहीबारको मन्त्रिपरिषद् बैठकमा भने यादव सहभागी भएनन् । मधेसमा भने एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई छोडेर जनमतसँग संवाद गर्ने तयारी गरेको बुझिएको छ । यस्तोमा केन्द्रमा समेत जनमत सरकारमा सामेल हुन सक्ने नेताहरूले बताएका छन् । 

नवगठित जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने मधेसमा पनि आफूहरूकै बहुमत हुने दाबी गरे । ‘मधेसमा फेरि पनि केन्द्रीय गठबन्धनकै सरकार हुन्छ । हामीले मधेसमा पनि बहुमत जुटाउँछौँ, अहिलेको सरकार अब रहँदैन,’ उनले भने ।

२०७९ पुस २७ मा मधेसको मुख्यमन्त्री बनेका यादव त्यसयता निरन्तर मुख्यमन्त्री छन् । उनले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौथो पटक विश्वासको मत लिएका थिए ।

Back to top