×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको एमआरआई सेवा प्रवाहमा समस्या देखिएको छ । नारायणी अस्पतालको एमआरआई मेसिनमा एमआरआई गर्दा ईरोर हुने समस्या देखिएको हो । १५ देखि २० मिनेटमा हुने एमआरआईमा आधि घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । 

मेशिनको समस्याले बिरामीलाई थप समस्या हुन सक्ने भएर एमआरआई सेवा सञ्चालन गर्न नसकिने नारायणी अस्पतालका रेडियोलोजी विभाग प्रमुख अभिनाश झाले बताए । उनकाअनुसार होल स्पेनको कुनै पनि एमआर आई गर्न सकिदैन । दैनिक ८ देखि १० जनासम्मको एमआरआई हुने गरेकोमा केही दिनदेखि मेसिनमा समस्या आएको उनको भनाई छ । 

एमआरआई सेवा नभएपछि अस्पताल आउने गरिब, बिपन्न परिवारका बिरामीहरु चर्काे शूल्क तिरेर निजी संस्थामा एमआरआई गराउन बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई बाहिर दोब्बर कम्तीमा १६ हजार रुपैयाँ लाग्ने गरेको छ । 

नारायणी अस्पतालका मेसु डा. चितरन्जन साहकाअनुसार चाइनाको युनाईटेड इमेज कम्पनीबाट खरिद गरिएको एमआरआई मेसिनको बाँकी रहेको २० प्रतिशत रकम भुक्तानी नहुँदा मेसिनमा देखिएको समस्या समाधान हुन सकेको छैन । 

उनले भने, “अहिले मेशिन वारेन्टी पेरियडमा छ । डलरको रेट अनुसार खरिद गरिएको मेसिनको बाँकी २० प्रतिशत रकम भुक्तानी गर्न नसकिएर कम्पनीले मेसिनमा देखिएको समस्या समाधान गर्न सकेको छैन ।”

मेसु डा. साहले अपुग रकम स्वास्थ्य मन्त्रालयसंग माग गरिएको वताए । उनले मन्त्रालयमा पनि बजेट अभाव रहेकोले अगामी बर्षको बजेटमा अपुग रकम राख्ने मन्त्रालयले अश्वासन दिएको वताए ।

नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज गुप्ताले पनि एमआरआई मेसिन खरिद गरिएको कम्पनी बाकी रहेको भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न नसकेर समस्या भएको वताए । 
 

Back to top