×

वीरगञ्ज । प्रशस्त सम्भावना भएर पनि पर्यटन प्रबद्र्धनमा पछि परेको पर्साको ठोरी क्षेत्रमा पछिल्लो समय ठूला लगानीका होटेलहरू खुल्न तालेसँगै जङ्गल सफारी सुरु भएको छ । ८ करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित ठोरी गाउँपालिका वडा नम्बर २ मा ‘ठोरी जङ्गल रिर्सोट’ सञ्चालनमा आएसँगै र अब ठोरीमा जङ्गल सफारी पनि सुरु भएको छ ।  

ठोरी गाउँपालिका २ स्थित जङ्गल रिसोर्ट ठोरीबाट सोमबार पहिलो पटक जङ्गल सफारी गरिएको हो । ठोरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल ठोरी मध्यवर्ती समितिका अध्यक्ष बालकुमार बस्नेतसहितको टोलीले पहिलो पटक जङ्गल सफारीको परीक्षण गरेका हुन् ।

जङ्गल रिसोर्टबाट सुरु भएको सफारी इच्छानगर हुँदै सिकारीबास, बुद्वनगरबाट हुलाकी मार्ग हुँदै जङ्गल रिसोर्ट ठोरीमा आई सम्पन्न भएको थियो ।

सोमबार परीक्षणका रूपमा सञ्चालन भएको र केही दिन भित्र कानुनी प्रक्रिया पूरा गरी नियमित रूपमा सफारी सुरु गरिने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

जङ्गल सफारी सञ्चालन गर्न सडक मर्मतका लागि समितिबाट ८ लाख रुपैयाँ खर्च गरी काम सम्पन्न समेत गरेको अध्यक्ष बस्नेतले बताए । जङ्गल सफारीले ठोरी क्षेत्रमा पर्यटन विकासमा नयाँ आयाम थप्ने उनको विश्वास छ । 

भारतीय नागरिक र वीरगञ्ज लगायत स्थानबाट पुग्ने पाहुनाका लागि जङ्गल सफारी प्रभावकारी हुने, ठोरीका जङ्गलभित्र र बाहिरका बस्ती समेत लाभान्वित हुनुका साथै आन्तरिक आयआर्जनका बाटो खुल्ने अपेक्षा गरिएको छ ।

Back to top