×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै राजनीति वृत्त गर्माएको छ । (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र विभक्त भएर बनेको जसपाका अध्यक्ष अशोक राई दुवै पक्षले सरकारलाई समर्थन दिएपछि विभाजन हुनुको अर्थ के हो भन्ने कौतुलहता उत्पन्न भएको छ । 

वैदेशिक भ्रमण (अमेरिका र कतार) सकेर स्वदेश फर्किएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने जानकारी गराइसकेको छ । त्यसअघि निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र प्रदान गरे लगत्तै अशोक राई नेतृत्वको जसपाले पनि वर्तमान सरकारलाई समर्थन गर्ने उद्घोष गरीसकेको थियो । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा अध्यक्ष यादव  उपप्रधानसहित स्वास्थ्य मन्त्री छन् भने वन मन्त्रीमा नवलकिशोर साह छन् । तर, मन्त्री साह उपेन्द्र यादवको साथ छाडेर अशोकतिर गएका छन् । 

राजनीतिक वृत्तमा चलेको चर्चाअनुरुप नेकपा एकिकृत समाजवादी (एस) का अध्यक्ष माधव कुमार नेपाल  नेपाली कांग्रेस, रास्वपा र जसपासँग नयाँ गठबन्धन गर्ने तयारीमा थियो । सोही तयारीअनुसार बिदेश भ्रमणबाट फर्किएलगत्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीति थियो । तर त्यही रणनीतिको संकेत पाएको प्रचण्ड सरकारकै आग्रहमा अशोक राई लगायतको समूहले पार्टी विभाजन गरेको हुन सक्ने अनुमान गरिएको छ । 

यदि यो रणनीति सही हो भने प्रचण्ड र केपी शर्मा ओलीले उपेन्द्र यादवले समर्थन फिर्ता लिएपछि अशोक राई, प्रदीप यादव लगायतलाई मन्त्री बनाउने आश्वासन दिएको हुन सक्ने अड्कल गर्न खासै गाह्रो छैन । 

तर खेल उल्टो भयो, उपेन्द्र यादवलाई पनि मन्त्रीको मोहले समर्थन फिर्ता लिने आधार भएन । यता समर्थन फिर्ता नलिएपछि नयाँ गठीत जसपाका नेताले पनि मन्त्री नपाउने अवस्था देखिन्छ । अब यस्तो अवस्थामा दुई वटा विकल्प हुन सक्छन् । एउटा मन्त्री नपाएपनि यत्तिकै बस्ने र समर्थन जनाउने । अनि अर्काे अरु दलसँग गठबन्धन गरेर सरकार बनाउन कसरत गर्ने । 
 

Back to top