×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । पर्सामा ग्रामीण भेगका मानव बस्तीमा आगलागीका घटना धेरै भइरहेपनि जिल्लाका वन जङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला पर्सा जिल्लाभित्र रहेका वन क्षेत्र भने सुरक्षित देखिएको हो ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले पर्सामा यो गर्मी र सुख्खा याममा ठुलो प्रकृतिको डढेलो नलागेको बताए । “यो सिजनमा पर्सामा डढेलो लागेर वन जङ्गलमा काठ–दाउरामा ठुलो नोक्सानी भएको छैन तर कृषि उपज क्षेत्रमा भने आगलागीको समस्या देखिएको थियो”, उनले भने, “सुरुवाती चरणदेखि वन जङ्गलमा हुन सक्ने डढेलोको विषयमा सतर्कता र सावधानी अपनाउन भनेकाले पनि अहिलेसम्म यहाँको वनमा डढेलो लागेको छैन ।”

पर्सामा चालु आर्थिक वर्षको करिब १० महिनामा आगलागीले करिब ६ करोड बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा चालु आर्थिक वर्षको वैशाख २१ गतेसम्म आगलागीबाट पाँच करोड ७२ लाख बराबरको धन सम्पत्ति नष्ट भएको हो ।

पर्सामा गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ लाख ८४ लाख बराबरको क्षति भएको थियो । आगोले त्यहाँका १५ किसानको गहुँ, अन्नबाली, पराल, कुखुरा फर्म र फुसको घरलगायतमा क्षति पुर्‍याउँदा १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।

गत वैशाख ११ गते वीरगञ्ज – १७ अलौँका महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार ‘सट’ भएर सुरु भएको आगलागीले सात जनाको फुसका घरसहित अन्नपात, सुनचाँदी र पशुचौपाया जल्दा ५३ लाख ९० हजार बराबरको क्षति भएको थियो । “अन्य जिल्लामा जस्तो पर्सामा वन क्षेत्रमा डढेलो लागेको छैन,” वन अधिकृत कर्णले भने ।

उनले जिल्लाका ६ वटा सब डिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि वनमा आगो लगाउने काम नभएको हुनसक्ने बताए । “विगतमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारी गर्नेले आगो लगाएर चोरी सिकारी गर्ने प्रवृत्ति थियो,” उनले भने, “यसपालि सावधानी अपनाएकाले आगजनीको घटना हुन पाएको छैन तर अझै सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ ।”

यद्यपि पर्साका एकाध वनमा डढेलो सुरु हुन खोजे पनि तुरुन्तै निभाइएको उनले बताए । पर्सा जिल्लामा ६ वटा सब डिभिजन वन कार्यालय छन् । पर्साको क्षेत्रफल एक लाख ४० हजार चार सय ३४ हेक्टर छ । जसमध्ये आठ दशमलव २३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । डिभिजन वन कार्यालय मातहत ११ हजार चार सय ५१ दशमलव २८ हेक्टर वन क्षेत्र पर्दछ । यो तथ्याङ्कमा निकुञ्ज क्षेत्र भने समावेश गरिएको छैन ।

Back to top