×

वीरगञ्ज । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गर्दै नयाँ दल गठन गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई जन विरोधी, पार्टी विरोधी लोभी स्वार्थी समूहको झुन्डको संज्ञा दिएको छ ।

जसपा नेपाल मधेस प्रदेश कमिटीले सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी फुटाएर नयाँ दल दर्ता गराउने कार्य प्रति आपत्ति जनाउँदै त्यसमा लागेका प्रतिनिधिसभा सदस्यहरूलाई यस्तो संज्ञा दिएको हो ।

पार्टीका मधेस प्रदेश अध्यक्ष बाल किशोर प्रसाद यादवले एउटा प्रेस विज्ञप्ति जारी गर्दै वैशाख २३ गते जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मुलुक बाहिर रहेको मौका छोपी जनविरोधी, पार्टी विरोधी लोभी स्वार्थीका झुन्ड प्रतिनिधि सभाका केही सदस्यहरूले पार्टी, समाजवादी आन्दोलन र पहिचानको आन्दोलनको भावना विपरीत समर्पणवादी चरित्र प्रदर्शित गर्दै मात्र नभई सङ्घीयता, समावेशी र पहिचानको आन्दोलनको विरुद्ध ध्रुवीकरण गर्ने ध्येयले कानुन विपरीत तथाकथित पार्टी दर्ता गर्न गराउने कार्यको निन्दा समेत गरेका छन् ।

यादवले पार्टी विभाजन भएको परिस्थितिमा सम्पूर्ण मधेस प्रदेशका पार्टी पङ्क्तिलाई पार्टी र अध्यक्ष उपेन्द्र यादवको सबल नेतृत्वमा दृढताका साथ उभी जस्तो पनि षडयन्त्र विरुद्ध सङ्घर्ष गर्न आग्रह गर्दै सबै शुभेच्छुक, नेता र कार्यकर्ताहरूलाई भ्रममा नपरी आफूले पार्टीबाट पाएको जिम्मेवारी दृढताका साथ पालना गर्न गराउन आह्वान समेत गरेका छन् ।

आइतबार पार्टीका नेता अशोक राईको नेतृत्वमा सात जना प्रतिनिधिसभा सदस्यले बहुमत केन्द्रीय सदस्यहरूको सहमतिमा जसपा नेपाल फुटाएर जसपा गठन गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । निवेदनको आधारमा सोमबार निर्वाचन आयोगको कार्यालयले जसपालाई दलको मान्यता दिँदै प्रमाणपत्र समेत दिएको छ ।

Back to top