×

वीरगञ्ज । रमण कन्स्ट्रक्सनले ठेक्का लिएका राष्ट्रिय गौरवका आयोजनाहरुको काम सुस्त गतिमा अगाडि बढि रहेको छ । धरहराको ठेक्का लिएर एका एक चर्चामा आएका रमण कन्सट्रक्सनलाई समयमा काम गर्नकालागि छैटौं पटक म्याद थपिने तयारी गरिएको छ अन्य गौरवका आयोजनाहरु सुस्त अवस्थामा छ ।

ठेक्का लिएर काममा लापरवाही गर्ने पप्पु कन्स्ट्रक्सनकै पथमा अहिले रमण कन्स्ट्रक्सन हिडेका छन् । ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको ठेकेदार कम्पनीलाई छैटौं पटक म्याद थप्न लागिएको छ । सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ मा नै थियो । पाँचौं पटक ०८० असोजसम्म म्याद थप गरिएको थियो ।

छैटौं पटक आगामी असोजसम्मका लागि निर्माण व्यवसायीले म्याद थप माग गरेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) आयोजनाका निर्देशक कोषनाथ अधिकारीले बताए । ‘काम सक्नका लागि अन्तिम पटक मौका दिन छैटौंपटक म्याद थप्न लागेका हौं,’ उनले भने, ‘त्यसकालागि सहरी विकास तथा भवन विभागलाई लेखेर पठाउने तयारीमा छौं, भदौ वा असोज कहिलेसम्म म्याद थप गर्ने भन्ने कुरा विभागले निर्णय गर्ने छ ।’ ६/६ महिनाका दरले म्याद थप गर्दै आए पनि काम सकिने अझै निश्चित छैन ।

यसको ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ । जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाल ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ । जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ लागतमा जिम्मा दिइएको छ । रमण कम्पनी धरहरा मात्रै हैन, नेपालका अन्य ठूला पूर्वाधार आयोजना निर्माणको ढिलाइ गर्नेमा पर्छ ।

रमणले सुनकोशी–मरिण डाइभर्सन आयोजना, भेरी–बबई सिँचाइ आयोजनाको केही भाग निर्माणको जिम्मा पाएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा हेडवक्र्स, पावर हाउस, सर्ज–साफ्टको ठेक्का वाङदोङ युआनतियन–रमण जेभीले लिएको छ । यसको ठेक्का सम्झौता ०७६ साउन १३ मा भएको छ । सम्झौताअनुसार हेडवक्र्स, पावर हाउसको काम ०८० साउन २९ भित्र सकिसक्नुपर्ने हो । समयमै काम नसकिने भएपछि ०८१ भदौ १ सम्म म्याद थप गरिएको छ ।

सुनकोसी मरिणमा सुरुङको ‘ब्रेक थ्रु’ हुनै लाग्दा आयोजनाको अन्य काम सुस्त छ । यसमा सुरुङ खन्ने काम ९९ प्रतिशत पुग्दा बाँध बाँध्ने काम ७ प्रतिशत मात्र सम्पन्न गरेको छ । बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको छ । पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ । १६ महिनाअघि ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोसीमा बाँध निर्माणलगायत काम गर्न १२ अर्ब रुपैयाँमा ठेक्का भएको हो ।

धरहरा निर्माणमा ढिलाई गरिरहेको रमणले फेरि म्याद थपको सुविधा पाएको छ । ‘खरिद नियमावली १३ औं संशोधनले अन्तिम मौका भनेर म्याद थप दिने उल्लेख छ, त्यहीअनुसार निर्माण व्यवसायीले म्याद थपको माग गरेका छन्,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक अधिकारीले भने, ‘ त्यहीअनुसार धरहरा निर्माण म्याद थप गर्ने तयारी छ ।’ पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएपछि जरिवाना लगाएर काम गर्ने तयारी हुँदै गर्दा खरिद नियमावली संशोधन भएकाले म्याद थप गर्नुपरेको उनले बताए । ‘अब निर्माणको काम धेरै बाँकी छैन,’ उनले भने, ‘बिजुली, बत्तीलगायत इलेक्ट्रिकल कामहरू गर्न बाँकी छ, त्यो गर्न धेरै समय लाग्दैन ।’ ढिलै भए पनि भदौभित्र धरहरा सञ्चालनमा ल्याउने तयारी रहेको उनको दाबी छ ।

०७२ को भूकम्पले धरहरा भत्किएपछि यसको पुनर्निर्माण थालिएको छ । निर्माण व्यवसायीका कारण पनि यसको निर्माण समयमै हुन नसकेको आयोजनाको भनाइ छ । ‘धेरै पटक म्याद थपिसकेको छ, समय दिए पनि काम सकिएको छैन,’ अधिकारीले भने, ‘केही कुरामा हामीबाट ढिला भयो होला तर निर्माण व्यवसायीको पक्षबाट ढिलाइ हुँदा समयमै काम सकिएन ।’ अहिले अन्तिम चरणको काम भइरहेको उनको भनाइ छ । ‘

चार वर्षअघि धरहरामा जडान गर्न खरिद गरिएका विद्युत्का सामान छन्, ती सामान पुराना भएकाले परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ, यसमा हेरेर थपघट गर्नुपर्नेछ,’ उनले भने, ‘अहिलेसम्म कुल लागत रकममा संशोधन भएको छैन, सामान थपघट गर्नुपरे थोरै रकम बढ्न सक्छ ।’ अहिलेसम्म धरहरा निर्माणमा २ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘इलेक्ट्रिकल सामान निर्माण व्यवसायीले ल्याएका छन्, त्यसको परीक्षण र प्रयोग नगरी पूरा भुक्तानी गर्दैनौं,’ उनले भने, ‘त्यसका लागि ५० प्रतिशत मात्र रकम दिइएको छ, त्यसै भएर कामभन्दा कम भुक्तानी देखिएको छ ।’ सामान मात्र ३० करोड रुपैयाँको रहेको उनले बताए ।

०७८ वैशाख ११ मा उद्घाटन भइसकेको धरहरा अझै सञ्चालनमा नआउँदा यो खण्ड भएर ओहोरदोहोर गर्ने सर्वसाधारण आश्चर्यमा छन् । बाहिरैबाट धरहरा अघि उभिएर फोटो भिडियो खिच्न भीड लाग्छ । सुरुमा कोभिड–१९ को प्रभावले गर्दा निर्माणमा ढिला भएको आयोजनाको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माण अहिलेसम्म पूरा भएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो । धरहरा मात्र ठडिएको छ, धरहराभित्रका काम अहिले पनि भइरहेकै छन् । धरहरा निर्माण थालेको ६ वर्ष (हालसम्म) मा भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।

Back to top