×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा शनिबार माता तिर्थ औंशी अर्थात आामाको मुख हेर्ने दिनको उपलक्ष्यमा ४ सय ५० जना आमाहरुलाई सम्मानित गरिएको छ । हरेक बर्ष झैं यस बर्षको माता तिर्थ औंशीका उपलक्ष्यमा वडा नम्बर ५ को वडा कार्यसमितिको कार्यालयले वडामा रहेका महिलाहरुलाई सम्मान गरेको हो ।

आमा समुहको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथी वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंह र वडाध्यक्ष प्रदीप चौरसियाले आमाहरुलाई शल ओढाउनुका साथै मिठाई र फलफूल प्रदान गर्दै सम्मानित गरेका हुन् । 

कार्यक्रममा बोल्दै मेयर सिंहले आमाकै कारण संसार देख्न पाइने भएकाले हरेकले आमाको सम्मान गर्नुपर्नेमा जोड दिए । संसारमा आमाको तूलना कसैसँग गर्न नसकिने बताउँदै उनले आमा–बुबाको सेवा भन्दा ठूलो धर्म केही पनि नहुने बताए । 

वडाध्यक्ष चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ, महिला नेतृ अन्नपूर्णा सिंह, प्रेरणा श्रेष्ठ, वडा सदस्य मनोज साह लगायतको उपस्थिती थियो ।
 

Back to top