×

वीरगञ्ज । सन् २०२४ को शुरूदेखि नै नेपाल आउने पर्यटकको संख्यामा सकारात्मक सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको पहिलो ४ महीनामा नेपालमा ४ लाख १६ हजार ६९ विदेशी पर्यटक आएका छन् । 

सन् २०२३ को पहिलो ४ महीनामा ३ लाख २६ हजार ५ सय २८ विदेशी नेपाल आएका थिए । यस आधारमा सन् २०२४ को पहिलो ४ महीनाको पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ४२ प्रतिशतले बढी हो । 

नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आए । यद्यपि अप्रिलको पर्यटक आगमन मार्चको भन्दा कम हो । मार्चमा १ लाख २८ हजार १६७ पर्यटक आएका थिए । सन् २०२३ देखि शुरू भएको नेपाल आउने विदेशी पर्यटकको संख्यामा सुधार हुने क्रम सन् २०२४ मा पनि जारी छ । 

बढ्दो पर्यटक आगमनले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । कार्यालयले मंगलवार सार्वजनिक गरेको वार्षिक लेखा अनुमानअनुसार यस वर्ष आवास तथा भोजन सेवाको वृद्धिदर सबैभन्दा राम्रो रहने देखिएको छ । पर्यटक आगमनमा भएको सुधारले उक्त क्षेत्रको वृद्धिदर २१ दशमलव ८४ प्रतिशत हुने अनुमान गरिएको छ ।

सधैंजस्तै अप्रिलमा बढी पर्यटक आउने देशमा भारत नै रहेको छ । अप्रिलमा भारतबाट ३० हजार १५८ पर्यटक आएका छन् । दोस्रोमा अमेरिका र तेस्रोमा चीनबाट आउने पर्यटक रहेका छन् । त्यसपछि क्रमश: बेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स, जर्मनी, रसिया र मलेशियाली पर्यटक बढी आएका छन् । मार्चको पर्यटक आगमन हेर्दा चीनबाट आउने दोस्रो स्थानमा थिए । अप्रिल हुँदा चीन तेस्रो स्थानमा झरेको छ । 

कारोनाअघि चिनियाँ पर्यटकको संख्या भारतपछि दोस्रो स्थानमा थियो । तर, अन्य देशबाट आउने पर्यटकको संख्या कोरोनाअघिकै स्थितिमा पुगे पनि चिनियाँको संख्यामा व्यापक बढोत्तरी हुन सकेको छैन । 

अहिले नेपालमा पदमार्ग, हिमाल आरोहणको सिजन भएकाले अमेरिकी पर्यटकको संख्या बढी देखिएको साथी ट्राभल्सका अध्यक्ष किशोरराज पाण्डेले बताए । तर, चिनियाँ पर्यटक १२ महीना नै आउने गरेको भन्दै पाण्डेले थप्छन्, ‘कोरोना महामारीपछि जसरी चिनियाँ पर्यटक बढ्नुपर्ने थियो त्यसअनुसार नबढेको स्पष्ट देखिएको छ । चीनमा अहिले पनि आर्थिक समस्या छ । अहिले अलिअलि उडान संख्या बढेको छ, यद्यपि सोचेअनुसार पर्यटक बढ्न सकेका छैनन् ।’

पर्यटकको संख्या धेरै नबढेकोले चीनबाट नेपालमा हुने उडान पनि कोरोनाअघिको स्थितिमा पुगेको छैन । ‘चिनियाँ पर्यटक मे, जुन, जुलाईमा पनि आइरहन्छन् । चीनको अर्थतन्त्र राम्रो भए कोभिडअघिको जस्तै पर्यटक आउन छन्,’ पाण्डेले भने । उनका अनुसार मेभन्दा जुनका लागि निकै राम्रो बुकिङ छ । ‘अमेरिकी पर्यटक अक्टोबरदेखि मार्चसम्म बढी आउने गर्छन् भने मेदेखि अमेरिकीको संख्या क्रमश: घट्छ,’ पाण्डेले भने ।

Back to top