×

वीरगञ्ज । वेस्ट इन्डिज ‘ए’ विरुद्ध​को टी–ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका क्याप्टेन रोहित पौडेलले अर्ध शतक प्रहार गरेका छन्। ३४ बलमा उनले अर्ध शतक प्रहार गर्ने क्रममा रोहितले ६ चौका र २ छक्का प्रहार गरे।

सुरुमा लगातार विकेट गुमाएको नेपालको पारी रोहितले सम्हाल्ने प्रयास गरिरहेका छन्। ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको नेपालले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो। कुशल भुर्तेल एक र कुशल मल्ल ४ रनमा आउट भए।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल २ सय १० रनको विशाल लक्ष्य पछ्याइरहेको हो। आजको खेल हारे नेपालले एक खेल अघि नै शृङ्खला गुमाउनेछ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो। उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे।

चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए। नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए।

पाँच खेलको सिरिजका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ए २–१ ले अगाडि छ। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। यी दुईबिचको पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ।

Back to top