×

तस्बिर : क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल)

वीरगञ्ज । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको हो । 

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे ।

दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए ।

दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड–विकेटमा क्याच आउट भए । 

१४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए । 

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए । 

अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई–दुई ओभरमा क्रमशः १५ र २५ रन दिए ।   

आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ। मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने छन् । 

वेस्ट इन्डिजले भने हिजो जित हासिल गरेको टोलीलाई निरन्तरता दिएको छ । 

Back to top