×

वीरगञ्ज । वीरगञ्जको ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा भएको चोरीमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

बैंकमा चोरी गरिएको केही रकम, चोरीको क्रममा प्रयोग गरिएको हतियार र अन्य औजारसहित भारतीय प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको हो  । आइतबार राती नबिल बैंकको बाइपास शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो ।

सीमावर्ती भारतीय जिल्ला मोतिहारीमा प्रहरीले विहारको विभिन्न स्थानबाट चोरी गरिएको रकममध्ये १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको मोतिहारी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कान्तेश कुमार मिश्रले बताए ।

पक्राउ पर्नेमा विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको एसपी मिश्रले जानकारी दिए । पक्राउ परेकाहरूले भारतमा एक जना हुन्डी कारोबारसँग पनि ४० लाख रुपैयाँ लुटेको भारतीय प्रहरीको दाबी छ । विहार क्षेत्रमा भएका अन्य चोरीको घटनामा समेत उनीहरूले आफ्नो संलग्नता रहेको स्वीकार गरेको मिश्रले बताए ।

नबिल बैंकमा चोरी पश्चात् लुटेको रकमसहित चोरहरू भारत पुगेका थिए । त्यहाँ पुगेका चोरहरूको खोजी गर्न नेपाल प्रहरीको आग्रह पश्चात् घटनाको छानबिन गर्न एसपी मिश्रले एउटा विशेष टोली नै गठन गरेका थिए । गठित टोलीले विशेष सूचनाको आधारमा दरपा थानाबाटमा छापा मारी गरेर १७ लाख २८ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको थियो । सो क्रममा प्रहरीले मन्टु र अर्जुन पक्राउ परेका थिए । उनीहरूसँग सोधपुछका क्रममा प्रहरीले सुनितालाई ९५ हजार रुपैयाँ र हटियासहित नियन्त्रणमा लियो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एउटा देशी कट्टा, केही थान गोली, लुटिएकोमध्ये १८ लाख २३ हजार २ सय रुपैयाँ, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइल बरामद गरेको मिश्रले जानकारी दिए ।

नबिल बैंकमा चोरी गरेको आरोपमा नेपाल प्रहरीले पनि एक भारतीयसहित चार जनालाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न रहेको आशङ्कामा मङ्गलवार साँझसम्म पर्सा प्रहरीले नेपाल र भारतका विभिन्न स्थानबाट रौतहटको बुधरामका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहारको घोडासनका मन्टु पासवान र नाम नखुलेको एक अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका अनुसार आइतबार राती ५ देखि ६ जनाको समूहमा आएका चोरहरूले बैंकको मूल गेटमा रहेको ताल्चा फुटाइ सय र बिस रुपैयाँको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चारदेखि पाँच जनाको सङ्ख्यामा रहेका चोरहरूको मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । रकम चोरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरूले मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएर हिँडेको पनि देखिएको डिएसपी थापाले बताए ।

Back to top