×

वीरगञ्ज । वीरगञ्जस्थित नबिल बैंकको बाइपास शाखामा भएको चोरीमा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । चोरीको घटनामा केही व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले थप विवरण खुलाउन चाहेनन् । 

अहिले परिचय बताउँदा अनुसन्धानमा प्रभाव पर्ने बताउँदै डिएसपी थापाले चोरीको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताए । उनका अनुसार बैंकको सिसिटिभी क्यामरामा ५/६ जनाको समूहले बोरामा पैसा बोकेर गएको देखिएको छ । शाखाबाट एक करोड ३४ लाख रुपैयाँ भन्दा बढी नगद चोरी भएको बैंकको बाइपास शाखाले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । 

सोमबार बिहान सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि उनले बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए । पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चारदेखि पाँच जनाको सङ्ख्यामा रहेका चोरहरूको मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए । रकम चोरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरूले मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएर हिँडेको पनि देखिएको थापाले बताए ।

बैंकमा चोरी भएको घटनाको समाचार यात्रा डेलीले प्रकाशन गरेसँगै घटनाले चर्चा पाएको हो । बैंकमा आइतबार राति चोरी भएपछि सोमबारदेखि नै बैंकको कारोबार बन्द गरिएको छ । सोमबार बिहान बैंकले सूचना टाँसेर कारोबार बन्द गरिएको जानकारी गराएको थियो ।

वीरगञ्जमा केही दिन यता चोरीका घटना बढिरहेका छन् । वीरगञ्जको व्यापारी बस्ने थलोको रूपमा रहेको आदर्शनगरका एक कपडा व्यापारीको घरमा भएको चोरीको घटना सेलाउन नपाउँदै पुन बैंकबाट करोड बढी रकम चोरी हुनुले प्रहरीलाई नै चोरले चुनौती दिएका छन् । त्यस्तै वीरगञ्जमा दिनहुँ मोटरसाइकल चोरी हुने घटना पनि बढ्दै गएको छ ।

Back to top