×

वीरगञ्ज । वीरगञ्जस्थित नबिल बैंकको बाइपास शाखाको भल्टबाट करोडौँ रकम गायब भएको छ । आइतबार राती शाखाको भल्टबाट करिब एक करोड भन्दा बढी रकम चोरी भएको सूचना यात्रा डेलीलाई प्राप्त भएको छ । 

प्राप्त सूचनाअनुसार योजनाबद्ध ढङ्गले चोरी भएको देखिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर गए राती रकम चोरी भएको हो । विश्वसनीय स्रोतका अनुसार भल्टमा भएको करिब ३ करोड भन्दा बढी रकम मध्ये एक करोड बढी चोरी भएको छ भने बाँकी रकम भल्टमै छ ।

शाखा कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको छ । चोरीको प्रकृति हेर्दा योजना बनाएर रकम लुटिएको स्पष्ट हुन्छ । 

चोरी भएकै कारण आज बाइपास शाखाबाट कारोबार भएको थिएन । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको छ । 

चोरी हुनु पूर्व बैंकको सिसिटिभी क्यामरा पनि बिग्रिएको पाइएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘घटनाको प्रकृति हेर्दा यसमा कर्मचारीको पनि संलग्नता रहेको हुन सक्ने आशङ्का छ । किनभने सिसिटिभी क्यामरा पनि चोरी हुनु पूर्व नै बिग्रिनु र भल्ट कहाँ छ? त्यसबाट आधा पैसा चोरी हुनु र आधा नहुनु लगायतका कारणले कर्मचारीको संलग्नता रहेको हुन सक्ने सम्भावना देखिन्छ ।’ 

घटना भएको स्विकार्दै थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए । उनले यस विषयमा थप केही खुलाउन चाहेनन् । पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलसँग पनि यस विषयमा बुझ्न फोन गर्दा उनी सम्पर्कमा आएनन् । बैंकबाट करोडौँ रकम चोरी भएको घटनाको सम्बन्धमा प्रहरीले जानकारी नदिनुले पनि यस विषयलाई थप शङ्कास्पद बनाएको छ । 
 
शाखाका प्रमुख पवन पौडेलको मोबाइल नम्बरमा पटक-पटक प्रयास गर्दा पनि उनले फोन उठाएनन् । शाखा कार्यालयमै गएर घटनाका बारेमा बुझ्न खोज्दा सुरक्षाकर्मीले भित्र पस्न दिएनन् । कार्यालयमा प्रवेश गर्न खोज्दा सञ्चारकर्मीलाई समेत रोकिएको छ ।  

बाइपास शाखाको गत वर्ष जेठ १८ गते वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका थिए ।

Back to top