×

वीरगञ्ज । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन नपर्ने प्रतिनीधि सभा सदस्य अमरेश कुमार सिंहले बताए । उनले भने, ‘शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन पर्दैन ।’ देउवालाई इंगित गर्दै उनले थपे, ‘उहाँ भन्नुहुन्छ, एउटी मेरो श्रीमती पढेको छँदैछ, बाँकी किन चाहियो ।’ सिंहले भने, ‘उहाँ शेरबहादुर देउवा हैन, वास्तवमा शेरबहादुर राणा हो ।’

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सांसद सिंहले संविधान समाप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जेल जाने टिप्पणी गरेका छन् । प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा विभिन्न अदालतमा रहेको बताउँदै उनले भने, ‘अहिलेको संविधान खतरामा पर्ने बित्तिकै प्रचण्ड जेल जानुहुन्छ । कांग्रेस, एमालेलाई केही हुँदैन । तर माओवादी खतरामा पर्छ र माओवादी खतरामा पर्ने बित्तिकै प्रचण्डमाथि खतरा हुनेवाला छ ।’ 

देश चलाउन तीनवटा शक्ति केन्द्रको चलखेल भइरहेको उनको भनाई छ । अहिले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको सांसद सिंहले बताए । संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए । 

प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको उनले आरोप लगाए । उनले भने, ‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ । योपनि एउटा अपराध नै हो ।’

नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे । 
 

Back to top