×

वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् ।

राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ ।

 उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरे । स्वागत लगत्तै राष्ट्रपति पौडेल र कतारका अमिर शीतल निवास पुग्ने र भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

 शीतल निवासको भेटवार्ता सकिएपछि राष्ट्रपति पौडेलले उनको सम्मानमा आयोजना गरेको राजकीय भोजका लागि होटेल सोल्टी जाने कार्यक्रम रहेको छ ।

 यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबिच बुधवार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

 कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबिचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवम् सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

 कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी उनी नेपाल आएका हुन् ।

Back to top