×

वीरगञ्ज । नवगठित सात्त्विक फाउन्डेसनले बारा जिल्लामा क्यान्सर सचेतना र नि:शुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बारा जिल्लास्थित महागढीमाई नगरपालिकामा फाउन्डेसनका अध्यक्ष रेडियोलोजिस्ट डा. नीरज कुशवाह नेतृत्वको टोलीले शनिवार क्यान्सर सचेतना तथा नि:शुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

फाउन्डेसनकी सदस्य एवम् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. चाँदनी पाण्डेले शिविरका क्रममा १ सय २० जनाको भीआईए स्क्रिनिङ गर्दा २१ जनामा क्यान्सर पोजेटिभ र ८ जनाको शङ्कास्पद अवस्थामा भेटिएको अध्यक्ष डा. कुशवाहले जानकारी दिए ।

पोजेटिभ भेटिएकाहरूको आगामी उपचारका बारेमा सुझाव दिँदै कार्यक्रम सम्पन्न भएको डा. कुशवाहले बताए । उनले आगामी भविष्यमा थप यस्ता कार्यक्रमहरू आफ्नो संस्थाले निरन्तर जारी राख्ने समेत बताए ।

पर्सा, बारा लगायत स्थानीय युवाहरूको सक्रिय सहभागितामा गठित सात्त्विक फाउन्डेसनले निरन्तर परोपकारी कामहरू आयोजना गर्ने योजना बनाएको छ ।

Back to top