×

वीरगञ्ज । मधेस र पश्चिम तराईमा आजदेखि पाँच दिन तातो हावा अर्थात् तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै मधेसको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराह र सप्तरी । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको उल्लेख गरेको छ ।

आगामी केही दिनसम्म मधेस र पश्चिम तराईमा अत्यधिक गर्मी हुने सम्भावना रहेको विभागको आकलन छ । विभागले भनेको छ, ‘आगामी पाँच दिन (२०८१ वैशाख १० देखि १४ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

यससँगै पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । यसबाट बच्न सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने उल्लेख गरेको छ ।

यसबाट जोगिन गर्मी बढी भएको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हलुका लुगा तथा सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन पनि विभागले सुझाएको छ ।

Back to top