×

अभिनेता पंकज त्रिपाठीका भिनाजु राकेश तिवारीको सडक दुर्घटनामा मृत्यु भएको छ । शनिबार साँझ करिब ४ बजे धनबाद जिल्लाको निरसा चोक नजिकै भएको सडक दुर्घटनामा पंकजकी दिदी सविता तिवारी पनि गम्भीर घाइते भएकी छन् । 

उनको धनबादको एसएनएमएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ तर उनी खतरामुक्त छन् ।

घटनाको खबर पाएलगत्तै पंकज त्रिपाठी मुम्बईबाट कोलकाता एयरपोर्ट पुगे र त्यहाँबाट धनबाद प्रस्थान गरेका थिए । चित्तरञ्जन रेलवे कारखानामा काम गर्ने पंकजका भिनाजु सवार कार तीन फिट अग्लो डिभाइडरमा ठोक्किएको थियो । उनी शनिबार साँझ श्रीमती सविता तिवारीसँग कारमा गोपालगञ्जबाट चित्तरञ्जन जाँदै थिए ।

निरसा चोकमा पुग्ने बित्तिकै अटोलाई बचाउन खोज्दा आफ्नो कारको नियन्त्रण गुमाएपछि तीव्र गतिमा रहेको कार तीन फिट अग्लो डिभाइडरमा ठोक्कियो । दुर्घटनामा राजेशको टाउकोमा गम्भिर चोट लागेको थियो । 

सूचना पाएलगत्तै निरसा थानाको प्रहरी स्थानीयको सहयोगमा पुगेर दुवैलाई उपचारका लागि धनबाद एसएनएमसीएच पठाइएको थियो । जहाँ उपचारका क्रममा राकेशको मृत्यु भएको हो ।

पंकज हालै ओटीटीमा रिलिज भएको ‘मर्डर मुबारक’ मा देखिएका थिए। उनको आगामी फिल्म ‘स्त्री २’ यही वर्ष रिलिज हुँदैछ ।

Back to top