×

वीरगञ्ज । नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ ।

१४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथ ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउण्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले तीव्र गतिका बलर अजिज खानलाई समान दुई चौका र छक्कासहित कुल २० रन जोडेका थिए ।

अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल ०, आसिफ शेख ५, सोमपाल कामी १२, रोहित पौडेल २१, सन्दीप जोरा २२, कुशल मल्ल १३, गुलशन झा ६ र करण केसीले ३ रनमा आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् ।
एसिया कपमा पुग्न आइतबार फाइनलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले भने अव घरेलु मैदानमा वेस्टइन्डिज ए सँग पाँच टी२० खेल खेल्नेछ । पहिलो खेल अर्को शनिबार हुनेछ ।
 

Back to top