×

वीरगञ्ज । आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय भिटामिन ए कार्यक्रमअनुरुप आज र भोली देशैभर भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । 

भिटामिन ए र जुकाको औषधी खुवाउनका लागि पर्सा जिल्लामा ७९५ जना स्वयमसेविका परिचालित गरिएको स्वास्थ्य कार्यालय पर्साका परिवार नियोजन अधिकृत अनिल कुमार मिश्राले जानकारी दिए । उनकाअनुसार पर्साका वीरगञ्ज महानगरपालिकासहित ३ वटा नगरपालिका र १० वटा गाउँपालिकामा स्वयमसेविकाहरुले जुकाको औषधी र भिटामिन ए खुवाइरहेका छन् । 

वडामा तोकिएका खोप केन्द्रमा र घरघरमा पुगेर औषधी दिइरहेको उनले बताए । पर्सामा ५२ हजार ३६ जना बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ । भिटामिन ए ६ महिनादेखि १२ महिनासम्मको बालबालिकालाई आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई १ क्याप्सुल खुवाइन्छ ।

त्यस्तै ४५ हजार ५ सय ६ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको अधिकृत मिश्रले बताए । जुकाको औषधी १ देखि २ वर्षसम्मको बालबालिकालाई २ सय एमजी (आधा ट्याब्लेट) र २ देखि ५ वर्षसम्मका बालबालिकालाई १ ट्याब्लेट ४ सय एमजी खुवाइन्छ । 

सरकारले देशैभर ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिएको छ ।


 

Back to top