×

वीरगञ्ज । वीरगञ्जमा विश्व महिला स्वास्थ्य तथा अधिकार दिवस मनाइएको छ । वीरगञ्ज नर्सिङ् क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले वीरगञ्जको नारायणी अस्पतालमा एक कार्यक्रम गरेर दिवस मनाएका हुन् । 

नारायणी अस्पतालमा प्रसुती सेवा लिन तथा चेकजाँचका लागि आएका महिलाहरुलाई महिला स्वास्थ्य तथा अधिकारका बारेमा जानकारी दिने उद्देश्यले सचेतनामुलक कार्यक्रमको आयोजना गरी दिवस मनाएको ब्याचलर ईन नर्सिङ् साइन्स (बिएनएस) दोस्रो वर्षमा अध्ययनरत छात्रा सबिना सुनारले जानकारी दिइन् । उनकाअनुसार बिएनएस दोस्रो वर्ष र बिएससी नर्सिङ् तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी मिलेर कार्यक्रमको आयोजना गरिएको हो । 

संकाय शिक्षिका (फेकल्टी टिचर) सञ्चीता बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नारायणी अस्पतालकी नर्सिङ निरीक्षक हेमा थापाले महिला स्वास्थ्य र अधिकारका बारेमा प्रकाश पारिन् । गर्भवती अवस्थामा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै उनले सन्तान जन्मान्तरदेखि परिवार नियोजनका अस्थायी तथा स्थायी साधन प्रयोगका बारेमा पनि अवगत गराइन् ।

उनले भनीन्, ‘सन्तान जन्माइसकेपछि कम्तीमा ३ महिना आराम गर्नुपर्छ । सामान्य घरमा खाना पकाउने खाने काम गरेपनि भारी काम गर्नुहुँदैन । त्यसैले सरकारी कर्मचारीलाई ९८ दिन बिदा दिने व्यवस्था गरिएको छ । सरकारी कर्मचारी नभएकाहरुले पनि सो समयमा एकदम ख्याल गर्न जरुरी छ ।’ 

कार्यक्रममा बिएससी नर्सिङ् तेस्रो वर्षमा अध्ययनरत प्रिया महासेठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ ले गरेका व्यवस्थाका बारेमा जानकारी गराइन् । गर्भवती भएको ३ महिनामा पहिलो पटक चेकजाँच गराउनेदेखि ८ पटक चेकजाँच गराउनुपर्ने जानकारी उनले दिइन् । त्यस्तै परिच्छेद ४ मा व्यवस्था भएअनुसार सुरक्षित गर्भपतनको अधिकारका बारेमा पनि उनले चर्चा गरिन् ।

१२ हप्तासम्म आफ्नै स्वइच्छाले गर्भपतन गराउन पाइने बताउँदै उनले २८ हप्तासम्मको गर्भलाई सम्बन्धीत महिला र चिकित्सकको मञ्जुरीमा गर्भपतन गराउन पाइने व्यवस्था रहेको बताइन् । 

त्यसैगरी बिएनएस दोस्रो वर्षमा अध्ययनरत सबिना सुनारले स्तनपानका बारेमा प्रष्ट पारिन् । स्तनपान गराउँदा हुने फाइदादेखि स्तनपान गराउने सही तरिका उनले कार्यक्रममा सहभागी महिलाहरुलाई सिकाइन् । बच्चालाई कम्तीमा ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्ने र ६ महिनापछि थप खानासँगै २ वर्षसम्म स्नतपान गराउनुपर्ने बताउँदै उनले त्यसबाट बच्चाको शारिरीक तथा मानसिक विकासमा टेवा पुग्ने जानकारी गराइन् । साथै बच्चालाई सही तरिकाले दुध नखुवाउँदा हुन सक्ने स्वास्थ्य समस्याका बारेमा पनि बताइन् । 

कार्यक्रममा सहभागी महिलाहरुले सन्तान जन्मान्तरदेखि परिवार नियोजनका साधन तथा स्तनपान सम्बन्धी जिज्ञासा राखेका थिए । सबिना सुनारले सहजीकरण गरेको कार्यक्रममा बिएनएस दोस्रो वर्षका उर्मिला बैद्य, सपना महरा र बिएससी नर्सिङ् तेस्रो वर्षका जमुना अधिकारी, ईशा बराल, समिक्षा लिंखा, सिया रायमाझी लगायतको उपस्थिती रहेको बिएनएस दोस्रो वर्षकी बन्दना वि.क.ले जानकारी दिइन् ।

उनकाअनुसार चैत २९ गते विश्व महिला स्वास्थ्य तथा अधिकार दिवस परेपनि उक्त दिन बिदा परेको हुँदा ३० गते आज अस्पतालमै कार्यक्रम गरेर मनाइएको हो । वीरगञ्ज नर्सिङ् क्याम्पसकी शिक्षिका सृजना चौधरीले कार्यक्रमलाई संयोजन गरेकी थिइन् ।

Back to top