×

वीरगञ्ज, ६ बैशाख ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अहिले सम्म गठबन्धनको बारेमा कुनै निर्णय गरेको छैन । नेकपा एमालेसँग तालमेल हुने चर्चा चलेपनि अहिलेसम्म कुनै आधिकारीक निर्णय नभएको लोसपाका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले यात्रा डेलीलाई बताए । केन्द्रमा र स्थानीय तहमा लोसपाले नेकपा एमालेसँग तालमेल सम्बन्धमा कुनै निर्णय नगरेको महतोको भनाई छ । 

प्रमुख विपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए । यात्रा डेलीसँग कुराकानी गर्दै अध्यक्ष सोनलले पार्टीले अहिलेसम्म कुनै आधिकारीक धारणा सार्वजनिक नगरेको बताए । 

यता लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले भने छलफलको क्रममा रहेको बताए । नेकपा एमालेसँग तालमेल गर्नका लागि छलफल जारी रहेको बताउँदै झाले १÷२ दिनभित्रमा सहमति गरेर आधिकारीक निर्णय सार्वजनिक गर्ने बताए । 

नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजराले तालमेल गर्ने विषयमा छलफल जारी रहेको बताए । एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

महानगर कमिटीबाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ । प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । बाँकी उम्मेदवारबारे भने एमालेले कुनै निर्णय गरेको छैन । 

लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । लोसपाबाट उपमेयरमा लोसपा पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाले दावी गरीरहेका छन् भने यसअघि देखि लोसपाबाट नेतृ रम्भा मिश्राले पनि आफुलाई उपमेयरको रुपमा प्रस्तुत गरेकी छिन् । 
 

Back to top