×

वीरगंज, ४ मंसिर हरिनारायण रौनियार अहिले पर्सा क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनी मधेस अधिकार आन्दोलनको अगुवा दल सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय राजनीतिमा पनि उत्तिनै सक्रिय छन् । निर्माण व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा होमिएका रौनियार फोरम नेपालको केन्द्रीय सदस्य हुन् । उनको राजनीतिक रुझान बुझ्न यत्तिमात्र पर्याप्त हुँदैन ।

आफ्नो समाज, समुदाय र देशका लागि केही गरौं भन्ने भावना बोकेको एउटा सचेत नागरिकका निम्ति व्यवसाय र यसबाट आर्जन हुने धन सम्पत्ति र भौतिक सुविधामात्र पर्याप्त नहुँदो रहेछ । समाजमा व्याप्त विभेद, असमानता, र अविकासले बारम्बार घोच्दो रहेछ उसको चेतनालाई । यस्तै उकुसमुकुसले राजनीतितिर डो¥याएका निर्माण व्यवसायी हुन्, रौनियार । साढे ३ दशकदेखि निर्माण व्यवसाय र राजनीतिलाई सँगै अघि बढाएका रौनियार यतिबेला मधेस अधिकार र समतामूलक विकासका निम्ति पूर्णकालीन राजनीतिमा उत्रिएका छन् ।

२०४० सालदेखि निर्माण व्यवसायमा सलग्न रौनियारको राजनीतिक आवद्धता भने २०३६ सालको जनमतसङ्ग्रहदेखि नै हो । नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको प्रेरणाबाट राजनीतिमा सक्रिय भएका उनी जनमतसङ्ग्रहमा बहुदलको पक्षमा डटेर उभिए । अथक परिश्रम र लगनशीलताको बलमा आफ्नो पप्पु कन्स्ट्रक्सन प्रालिलाई मुलुककै ‘क’ वर्गको निर्माण कम्पनीको पहिचानमात्र दिलाएनन्, यो व्यवसाय उनका लागि देशका कुनाकाप्चा र त्यहाँको असमानता र विभेदलाई नजिकबाट नियाल्ने माध्यम पनि बन्यो ।

शासकहरूले लादेको शोषण र विभेदको खाडलबाट जनतालाई जागरुक बनाउने र असमानताको अन्त्य गर्ने एउटै उद्देश्य लिएर उनी यतिखेर मधेस राजनीतिमा होमिएका छन् । राजनीतिक व्यवस्था परिवर्तनका निम्ति भएका प्रत्येक आन्दोलनका आयामहरूमा प्रत्यक्ष÷परोक्षरुपमा सहभागी भएका रौनियारलाई समन्ती सोचका शासक र उनीहरूकै मानोविज्ञनका पालकहरूले मधेस र मधेसीमाथि गरिरहेको विभेदले भित्रभित्रै पोलिरहेको छ ।

राजनीतिक व्यवस्था फेरियो, शासक फेरिए, तर सत्ता सञ्चालहरूको विभेद भरिएको मनोविज्ञान उस्तै रह्यो । शोषित र पीडित जनताको अवस्था कहिल्यै फेरिएन । असन्तोष र आक्रोशले आन्दोलनको रुप लियो । पहिलो र दोस्रो मधेस आन्दोलनमा जनता सडकमा उत्रिए । हरिनारायण रौनियार, जो मधेसीमाथि भइरहेको चौतर्फी विभेदको साक्षीमात्र नभएर भुक्तभोगी पनि थिए, आन्दोलनको पक्षमा उभिए । आन्दोलनको आँधीबेहेरीका अगाडि शासकले घँुडा टेके, सहमति पनि भए । तर, ती कहिल्यै पालना भएनन् ।

मधेसीलाई पटकपटक झुक्क्याउने र दोस्रो दर्जाको नागरिक ठान्ने प्रवृत्तिमा सुधार आएन । मुलुक लोकतान्त्रिक सङ्घीय गणतन्त्रमा प्रवेश ग¥यो । संविधान निर्माणमा शासकहरूले फेरि झेल गरे । विरोधमा आधा जनसङ्ख्या बसोबास गर्ने सिङ्गो मधेसका सडकमा मानवसागर ओर्लियो । आन्दोलनको केन्द्रबिन्दु बन्यो वीरगञ्ज । पालैपालो सत्ताभोग गरिहेका नेपाली काङ्ग्रेस र नेकपा एमालेले शान्तिपूर्ण आन्दोलन दबाउन बर्बरताको हद देखाए । अधिकार आन्दोलनबाट अत्तालिएका शासकले बन्दुकको सहारा लिन पुगे, गोली बर्साए । मधेस अधिकारका लागि दर्जनौं मधेसी सहिद भए ।

शासहरूबाट मधेसी जनतामाथि भइरहेको यो अत्याचारलाई नजिकबाट अनुभूत गरिरहेका रौनियारलाई असैह्य भयो । उनले अठोट गरे विभेदविरोधी अभियानको । र, आन्दोलनमा खुलेरै लागे । आन्दोलनको बलमा मधेसका केही माग पूरा भए । समता, समानअधिकार र आर्थिक विकासका एजेण्डा अझै बाँकी छन्, पूरा हुन । आन्दोलनको स्वरुप फेरिएको छ । मधेसको अधिकार आन्दोलन र मधेसीलगायत तमाम शोषित, पीडित वर्ग र समुदायको अधिकारका पक्षमा उभिएको सङ्घीय समाजवादी फोरम नेपालको झण्डा फहराउँदै अधिकार आन्दोलनमा सक्रिय छन् उनी ।

रौनियार यतिबेला पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि फोरम नेपाल र राजपा नेपालको संयुक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् । ३५ वर्षदेखिको निर्माण व्यवसायबाट अलग भएर पूर्णकालीन राजनीतिमा उत्रिएका रौनियार अबको मधेस राजनीति ठूला भनिएका दलहरूले गणितीय बलमा जारी गरेको संविधानमा विद्यमान विभेदविरुद्ध सङ्घर्षको दिशामा केन्द्रित हुनुपर्नेमा दृढ छन् । यथास्थिति, प्रतिगमन तथा देशमा विद्यमान सबैखाले विभेद अन्त्यको लागि संविधान संशोधन अनिवार्य छ । विभेद, अन्याय र अत्याचारलाई समाप्त पार्दै समावेशी विकासलाई आफ्नो एकमात्र राजनीतिक अभीष्ट बनाएका रौनियार पहिचानसहितको सङ्घीयता, समतामूलक समृद्धि एवम् सुशासनका निम्ति मसाल चिन्हमा मतदानमार्फत संसद्मा मधेसवादीको सम्मानजनक स्थान हुनुपर्नेमा पनि उत्ति नै स्पष्ट छन् ।

 

Back to top