×

वीरगञ्ज । मधेस प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल जनशक्ति अभाव, अपर्याप्त पूर्वाधार र सडक विस्तार योजनाको दोहोरो मारमा परेको छ। चिकित्सक तथा नर्सको दरबन्दीअनुसार जनशक्ति नहुँदा सेवा प्रवाह प्रभावित भइरहेको बेला सडक विस्तारका कारण अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा र आईसीयू सञ्चालन भइरहेको भवनसमेत जोखिममा परेको छ।

अस्पतालमा ११औँ तहका प्रथम श्रेणीका १५ जना विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भए पनि हाल ओपिडी सेवामा जम्मा चार जना मात्र कार्यरत छन्। बाँकी ११ पद लामो समयदेखि रिक्त रहेका छन्। यस्तै, नवौँ र दशौँ तहका २६ चिकित्सकको दरबन्दीमध्ये २१ जना मात्र कार्यरत छन् भने ४० वटा स्टाफ नर्सको स्वीकृत दरबन्दीमध्ये आठ पद खाली छन्।

अस्पताल प्रशासनका अनुसार आवश्यक जनशक्ति उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पटक–पटक अनुरोध गरिए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन। प्रशासनिकतर्फ तृतीय श्रेणीको प्रमुख पदसमेत रिक्त रहेको जनाइएको छ।

नारायणी अस्पतालमा बिरामीको चाप निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ लाख ७८ हजार ७ सय ६१ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ५२ हजार ७ सय ७१ जनाले अन्तरङ्ग सेवा प्राप्त गरेका छन्। वैशाख महिनामा मात्रै ६९९ वटा जटिल शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रशासन प्रमुख सुशील यादवका अनुसार बिरामीको चापअनुसार भौतिक पूर्वाधार विस्तार हुन नसक्दा शय्या अभावको समस्या गम्भीर बन्दै गएको छ। बेड नपाउँदा धेरै बिरामी बरन्डा र भुइँमै बसेर उपचार गराउन बाध्य छन्।

मिर्गौला रोगीका लागि आवश्यक २१ वटा डायलाइसिस मेसिनमध्ये छ वटा मेसिन भवन तथा कोठा अभावका कारण प्रयोगमा ल्याउन नसकिएको र स्टोरमै थन्क्याएर राखिएको अस्पताल प्रशासनले जनाएको छ।

वीरगञ्जको मुख्य सडक विस्तार योजनाले अस्पताललाई थप समस्यामा पारेको छ। सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर मापदण्ड कायम गर्ने क्रममा अस्पताल परिसरभित्र रहेका केही संरचनामा असर पर्ने देखिएको छ।

अस्पतालका अनुसार सो मापदण्डभित्र आकस्मिक सेवा र आईसीयू सञ्चालन भइरहेको भवन परेको छ। सडक विभागले नापजाँच गरी ती भवनहरूमा रातो चिन्हसमेत लगाइसकेको छ।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले अस्पतालको अवस्था चिन्ताजनक बन्दै गएको बताए। उनका अनुसार आकस्मिक सेवा र सघन उपचार कक्ष सञ्चालन भइरहेको भवन नै हटाउनुपर्ने अवस्था आए सेवाप्रवाहमा गम्भीर असर पर्न सक्छ।

अस्पताल प्रशासनले बढ्दो बिरामी चाप र स्वास्थ्य सेवाको आवश्यकतालाई ध्यानमा राख्दै कम्तीमा २० बिघा क्षेत्रफलमा आधुनिक अस्पताल भवन निर्माण तथा थप शय्या विस्तार आवश्यक रहेको जनाएको छ।

स्वास्थ्य सेवा लिन नारायणी अस्पतालमा पर्सा, बारा, रौतहटलगायत मधेसका विभिन्न जिल्लाबाट दैनिक सयौँ बिरामी आउने गरेका छन्। यस्तो अवस्थामा जनशक्ति, पूर्वाधार र सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने स्थानीय सरोकारवालाहरूको माग छ।

Back to top