×

रक्सौल । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रक्सौलस्थित मैत्री पुलमा भारतीय सुरक्षा निकायले वैध भिसाबिनै भारत प्रवेश गर्न खोजेको आरोपमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

दैनिक सुरक्षा जाँचका क्रममा पक्राउ पर्नेमा म्यानमारका आङ निङ ल्याट (Aung Ning Latt) र स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्रा (Junila Beck Shrestha) रहेका छन्। उनीहरू वैध भिसा तथा आवश्यक यात्रा कागजातबिनै भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हरैया थाना क्षेत्रअन्तर्गत रहेको मैत्री पुलमा नियमित जाँचका क्रममा सुरक्षा निकायले उनीहरूलाई रोकेको थियो। त्यसपछि हरैया थाना प्रहरीले दुवै विदेशी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

हरैया थाना प्रमुख कृष्ण पासवानका अनुसार पक्राउ परेका दुवै विदेशी नागरिकलाई आवश्यक कानुनी प्रक्रियाका लागि मोतिहारी अदालत पठाइएको छ। साथै भारतीय अध्यागमन (इमिग्रेशन) विभाग तथा सुरक्षा निकायहरूले उनीहरू वैध कागजातबिनै भारत प्रवेश गर्न खोज्नुको उद्देश्यबारे पनि अनुसन्धान गरिरहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका म्यानमारका नागरिक आङ निङ ल्याट याङ्गुनस्थित मायाङ्गोन क्षेत्रका बासिन्दा हुन्। त्यस्तै स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्राको स्थायी बसोबास लाउफेनबर्ग, स्विट्जरल्यान्डमा रहेको बताइएको छ।

भारत–नेपाल खुला सीमामा विदेशी नागरिकहरूको आवागमनका विषयमा विशेष निगरानी राखिँदै आएको छ। सुरक्षा अधिकारीहरूका अनुसार सीमामा नियमित जाँचलाई थप कडाइ गरिएकाले कागजातविहीन आवागमनका घटनाहरू नियन्त्रणमा आउन थालेका छन्। हाल उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

Back to top