फाइल तस्बिर ।
वीरगञ्ज । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मङ्गलवार मधेस प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहान मधेस प्रदेशमा आंशिक बदली रही अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो भने मधेससहित कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विशेषगरी मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । खेतबारी, खुला स्थानमा काम गर्ने तथा यात्रामा निस्कने सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।
आज राति पनि मधेस प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यता, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिन हुने सम्भावना रहे पनि मधेस प्रदेशमा अत्यधिक गर्मीको सम्भावना भने उल्लेख गरिएको छैन ।
मौसमसम्बन्धी थप अद्यावधिक जानकारीका लागि महाशाखाको आधिकारिक बुलेटिन हेर्न अनुरोध गरिएको छ ।