×

वीरगञ्ज । वीरगञ्जस्थित साउथ जोन माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूको सुरक्षा र अभिभावकको आर्थिक सुरक्षालाई ध्यानमा राख्दै एक महत्त्वपूर्ण नयाँ सुविधा लागू गरेको छ । विद्यालयमा अध्ययनरत करिब १८२५ विद्यार्थीहरूको लागि दुर्घटना तथा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

विद्यालयले एक निजी बिमा कम्पनीसँग सहकार्य गर्दै प्रत्येक विद्यार्थीका लागि एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा र ३५ सय रुपैयाँ बराबरको स्वास्थ्य बिमा व्यवस्था गरेको छ । यसरी प्रत्येक विद्यार्थीको कुल बिमा सुविधा एक लाख ३५ सय रुपैयाँ बराबरको रहेको सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले जानकारी दिएका छन् ।

विद्यालय प्रशासनका अनुसार बिमा सुविधा चालु शैक्षिक सत्रदेखि लागू गरिएको हो र यसको उद्देश्य विद्यार्थीहरूलाई अध्ययनसँगै सुरक्षित वातावरण प्रदान गर्नु रहेको छ । विशेषगरी २४ घण्टा लागू हुने बिमा योजनाले विद्यार्थी विद्यालयमा मात्र नभई घर, बाटो, खेलकुद वा अन्य कुनै पनि समयमा हुने दुर्घटनालाई समेत समेट्नेछ ।

बिमा सुविधाअन्तर्गत कुनै पनि विद्यार्थी दुर्घटनामा परेमा अभिभावकले उपचार खर्चका लागि वर्षमा अधिकतम एक लाख रुपैयाँसम्म दाबी गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, विद्यालय आउजाउ गर्ने क्रममा, घरमा खेल्दा वा अन्य दैनिक गतिविधिमा हुने दुर्घटनामा समेत प्रति घटनामा अधिकतम २५ हजार रुपैयाँसम्मको राहत प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

त्यसैगरी, स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत विद्यार्थी सामान्य बिरामी भएको अवस्थामा चिकित्सकीय परामर्श, ओपिडी टिकट तथा औषधोपचार खर्च बापत वर्षमा अधिकतम ३५ सय रुपैयाँसम्मको सुविधा अभिभावकले दाबी गर्न सक्नेछन् ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले यस कदमले अभिभावकमा आर्थिक भार कम गर्ने मात्र नभई विद्यार्थीलाई अझ सुरक्षित र निश्चिन्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यस्तो बिमा सुविधा विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी कल्याणतर्फको महत्त्वपूर्ण प्रतिबद्धता हो ।

शिक्षासँगै सुरक्षालाई प्राथमिकतामा राख्ने आधुनिक शैक्षिक अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता विद्यार्थीमैत्री कार्यक्रमहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

Back to top