वीरगञ्ज । पर्साको सखुवा प्रसानी गाँउपालिका वडा नम्बर ३ कौवावन कटैयामा बुधबार रामजानकी मन्दिरको शिलान्यास गरिएको छ । गाँउपालिका अध्यक्ष यशवन्त यादवले हिन्दु रितिरिवाज अनुसार पूजापाठ गरेर मन्दिरको शिलान्यास गरेका हुन् ।
गाँउपालिका स्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा कटैयामा रामजानकी मन्दिरको निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष यादवले बताए । गाँउपालिका अध्यक्ष यादवकाअनुसार मन्दिर निर्माण रकम अपुग भएमा फेरी थप्न सकिनेछ । साथै उक्त मन्दिर बनिसकेपछि त्यसकै छेउमा पार्वती मन्दिर पनि गाँउपालिकाले निर्माण गर्ने उद्घोष पनि उनले गरेका छन् ।
मन्दिर शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मुजालिम अन्सारी, पूर्व वडाध्यक्ष अनरुद्र पटेल, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राउत कुर्मी लगायतको उपस्थिती रहेको थियो ।