×

वीरगञ्ज। नेपालमा संविधानले सुनिश्चित गरेको बालबालिकाको हकको रक्षा गर्ने उद्देश्यले स्वतन्त्र मानव अधिकार समाजले बीरगञ्ज महानगरपालिकाका ६ सामुदायिक विद्यालयमा तीन दिनसम्म स्थलगत अनुगमन गरेको छ। यस क्रममा विद्यालयहरूमा बालबालिकालाई प्रदान गरिने सेवाहरूमा विभिन्न अनियमितता र कमजोरीहरू फेला परेका छन्।

अनुगमनमा माईस्थान विद्यापिठ मा.वि., माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय, नेरा प्रा.वि. अठराहा, नेपाल राष्ट्रिय आधारभूत सुगौली विद्यालय, महानगरपालिका आधारभूत विद्यालय र बाल मन्दिर आधारभूत विद्यालय समेटिएका थिए।

प्रमुख समस्या:

१. स्वास्थ्य र पोषण: माईस्थान विद्यापिठ मा.वि. मा अनुगमनका क्रममा विद्यार्थीहरूलाई बाहिरी पसलबाट मंगाएर नास्ता दिइएको पाइयो। त्यस्तै, श्री माईस्थान बाल विद्या मन्दिरमा नास्ता तयार गर्ने ठाउँ अस्वस्थकर अवस्थामा रहेको पाइएको छ।

२. विद्यालयको अवस्थिति: नेरा प्रा.वि. अठराहा आधारभूत विद्यालयमा आवश्यक भौतिक सामग्री अभाव, प्रध्यानाध्यापक बस्ने कोठाको फोहर अवस्था, र कक्षाकोठामा प्रशस्त पंखा नहुँदा विद्यार्थीहरू गर्मीमा कष्टकर अवस्थामा पढ्न बाध्य भएको पाइएको छ।

३. विद्यार्थीको सुरक्षा: माईस्थान विद्यापिठमा टेम्पु र ई-रिक्साको बाटो विद्यालयको गेट अगाडि भएकाले विद्यार्थीहरूलाई आवतजावतमा समस्या भइरहेको छ।

४. नास्ता वितरणमा अनियमितता: श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार महिना देखि नास्ता वितरण बन्द गरिएको छ।

सकारात्मक पक्ष:
श्री महानगरपालिका आधारभूत विद्यालय र बाल मन्दिर आधारभूत विद्यालयमा नास्ता नियमित रूपमा वितरण हुँदै आएको छ भने विद्यालयहरूले सरसफाइमा पनि विशेष ध्यान दिएको पाइएको छ।

समाजले अनुगमनपछि विद्यालय प्रशासनलाई बालअधिकारको सम्मान गर्न र विद्यार्थीको आधारभूत अधिकार प्रत्याभूत गर्न आग्रह गरेको छ। समाजले बीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन पनि पेश गरिसकेको छ।

अनुगमन समितिको नेतृत्व कृष्ण कुमार खनालले गरेका थिए भने उपसभापति नन्दिकिशोर यादव, महासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुश्वाहा, सहकोषाध्यक्ष रामभरोस यादव लगायतको सहभागिता रहेको थियो।

Back to top