×

वीरगञ्ज । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २२८ पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, २५ जना अझै बेपत्ता छन् भने १५८ जना घाइते भएका छन्।

बाढी र पहिरो प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्य जारी रहेको छ। हालसम्म १३ हजार ७१ जनाको उद्धार गरिएको छ। खोज, उद्धार, र राहत कार्यलाई तीव्रता दिइएको छ, जसअन्तर्गत प्रभावितहरूलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण भइरहेको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ।

प्रवक्ता तिवारीले भनेअनुसार, सरकारले उद्धार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। यातायात अवरुद्ध भएका राजमार्गहरूको पुनः सञ्चालनका लागि समेत सरकारले अथक प्रयास गरिरहेको छ।

सरकारको प्रयास र स्थानिय प्रशासनको सहयोगले प्रभावित क्षेत्रमा थप क्षति कम गर्न सकिने अपेक्षा गरिएको छ।

Back to top