×

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीमा टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो । राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमा समेटियो ।

नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे । पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे । आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए ।

गुलशन झाले बलमा चौका र छक्काको सहयोगमा २३ रन बनाए । एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो ।

क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १ विकेट लिए ।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । पहिलो खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो ।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।

सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो जितको खोजीमा रहेका छन् । नेपालले चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ । हाम्रो खेलकुदबाट साभार । 

Back to top