वीरगञ्ज । हेटौडाबाट काठमाण्डौ जाने एउटा बाटो सुचारु भएको छ । बाइरोडको बाटो हुँदै सिमभन्झ्याङ् भएर चन्द्रागिरीबाट काठमाण्डौ जाने बाटो सुचारु भएको बागमती प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिए । उनकाअनुसार अरु सडकहरु अहिले मर्मत गर्ने काम भइरहेको छ ।
कान्ति लोकपथ अझै केही दिन बन्द हुने उनले जानकारी दिए । बागमती नदिमा भएको पुल पुरै बगाएको हुँदा उक्त सडक मार्ग भएर यात्रा गर्न नसकिने उनले बताए । यस्तै कुलेखानीको ड्याम खोलेको बेलामा कुलेखानी ड्याम नजिकैको पुलसँगै सडक भत्किएको छ । जसले गर्दा सो क्षेत्रको सडकखण्ड पनि अवरुद्ध छ ।
सिस्नेरीमा पनि बाटो बाढीले बगाउँदा सो ठाउँमा बाटोको नामोनिशान छैन । सिमभन्झ्यांगमा भएको पुल पनि बाडीले बगाइदिएको छ । पृथ्वी राजमार्ग र बिपि राजमार्गका विभिन्न स्थानमा पनि बाढीले क्षति गरेको छ । जसका कारण आवागमन अवरुद्ध भएको छ । आवागमनलाई सहज बनाउन सडक मर्मतको काम भइरहेको पनि मगरले जानकारी दिए ।
फुलकोटमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको कार्यालय नै बाढीले बगाएको छ । सबै टोली उद्धार कार्यमा खटिएको हुँदा कार्यालयमा कोही नहुँदा अधिकांश सामग्री बाढीले बगाइदिएको उनले बताए ।
यात्रा डेलीसँगको कुराकानीमा उनले भने, ‘हतियार लगायतका सामान मात्रै बचाउन सकिएको छ, बाँकी त सबै सामान कार्यालयसँगै बग्यो ।’ साथै उनले प्रदेशका सबै जिल्लामा सशस्त्र प्रहरी उद्धार तथा मर्मतसम्भारमा परिचालन भएको पनि जानकारी दिए । डिआईजी मगरकाअनुसार बागमती प्रदेशमा हालसम्म १४३ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो र डुबानमा परेर प्रदेशमा १४३ जनाको मृत्यु भएको हो । यसमा काठमाण्डौ उपत्यकाभित्रका केही संख्या छुटेको उनले बताए । प्रदेशभरीमा झोलुंगे र पक्की गरेर २१ वटा पूल बाढीले बगाएको मगरले जानकारी दिए ।