×

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन मधेश युनाइटेड आफ्नो पहिलो जितको खोजीमा छ। पहिलो खेलमा कर्णाली यस्विससँग ३-१ को सेटमा पराजित भएको मधेशले आज राति ७:४५ बजे ललितपुर क्विन्ससँग प्रतिस्पर्धा गर्नेछ।

लिगको उद्घाटन खेलमा पराजित भए पनि मधेश युनाइटेडले आफ्नो प्रदर्शन सुधार्दै आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ। प्रशिक्षक र टिम व्यवस्थापनले खेलाडीहरूको मनोबल उच्च राख्न विभिन्न रणनीतिहरू तयार पारेका छन्, जसले गर्दा टिमले आफ्नो पहिलो जित हासिल गर्न सक्नेमा मधेश युनाइटेडकी प्रमुख कार्यकारी अधिकृत संज्ञा श्रेष्ठ विश्वस्त छिन् ।  

मधेश युनाइटेडकी कप्तान निरुता ठगुन्ना  भन्छिन्,  "हामी पहिलो खेलमा पराजित भयौं, तर यो खेलमा हामीले सुधार गरेर जित निकाल्नुपर्छ। हामी पूर्ण रूपमा तयार छौँ । र हामीले आज जित्नको लागि हरेक सम्भावनालाई उपयोग गर्नेछौं।"

ललितपुर क्विन्सले भने पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराउँदै राम्रो सुरुवात गरेको थियो। थाइल्याण्डकी एक खेलाडी घाइते भए पनि ललितपुरले काठमाडौंविरुद्ध प्रभावशाली प्रदर्शन देखाएको थियो।

इडब्लुभिएलको यो पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। हरेक टोलीमा ३ विदेशी खेलाडीहरू पनि छन्, जसले लिगलाई थप रोमाञ्चक बनाएको छ।

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै साँझ ५:४५ बजे कभर्डहलमै काठमाडौं स्पाइकर्स र चिनव शक्तिबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अन्तिम खेल ललितपुर र मधेशबीच राती ७:४५ बजे सुरु हुनेछ । 

Back to top