×

वीरगञ्ज । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सुकिला नोट वितरण गर्ने भएको छ। यस पटक नयाँ नोटको सट्टा पुराना तर सफा (सुकिला) नोट मात्रै साट्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयहरूबाट सर्वसाधारणले सुकिला नोट साट्न सक्नेछन्।

राष्ट्र बैंकका सहायक प्रवक्ता डाक्टर डिल्लीराम पोखरेलका अनुसार यस वर्षबाट नयाँ नोट सटही नगर्ने निर्णय लिइएको छ। यस निर्णयले बैंकलाई नोट छपाइमा लाग्ने खर्च कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मद्दत पुग्ने छ।

विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि ५, १०, २०, ५० र १०० दरका साना नोटहरू १–१ सेटको रूपमा सटही गर्न सकिनेछ। राष्ट्र बैंकले १८,५०० रुपैयाँसम्मका नोट साट्ने सुविधा प्रदान गर्ने जनाएको छ। सहायक प्रवक्ता पोखरेलले यस वर्ष बजारमा पठाइसकेका र फिर्ता भएका सुकिला नोटहरू साट्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।

नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि हरेक वर्ष नयाँ नोट साट्ने सुविधा प्रदान गर्दै आएको भए पनि खर्च व्यवस्थापनका कारण सुकिला नोट सटहीको अभ्यास अघि बढाएको हो।

Back to top