वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा ५० करोड रुपैयाँको बजेट प्रस्ताव अन्योलमा परेको छ। नगरपालिकाका मेयर सिंगासन साहको हठका कारण यो बजेट पास हुन नसकेको आरोप जनप्रतिनिधिहरूले लगाएका छन्। जनता समाजवादी पार्टीबाट निर्वाचित मेयर साहले पार्टीगत स्वार्थका कारण बजेट प्रस्तावमा अवरोध पुर्याएको भनाइ छ।
मेयर साह नेकपा एमालेबाट निर्वाचित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृह क्षेत्र भित्रका हुन्। बहुदरमाई नगरपालिका वडा नम्बर ७ स्थित फुलकौल गाउँ मन्त्री गुप्ताको गृहनगर हो। मन्त्री गुप्ताले बहुदरमाई नगरपालिकाको विकासका लागि विभिन्न योजनाहरू अगाडि बढाउन पहल गरेका छन्।
पहिलो चरणमा मन्त्री गुप्ताले वडा नम्बर ८, रामनगरीमा सर्वपक्षीय भेला राखेर २० करोडको बजेट प्रस्ताव तयार गराई अर्थ मन्त्रालयमा पेस गरिसकेको वडा अध्यक्ष सुनिल प्रसाद कुशवाहाले जानकारी दिए। सो बैठकमा मेयरसहित नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति थियो।
तर, मंगलवार वडा नम्बर ६ गम्हरियामा आयोजना गरिएको अर्को ५० करोडको बजेट प्रस्ताव बैठक भने मेयर साहको असहयोगका कारण बिथोलिएको जनाइएको छ। वडा नम्बर ७ का वडा अध्यक्ष प्रमोद यादव र वडा नम्बर ८ का वडा अध्यक्ष सुनिल कुशवाहाका अनुसार, यो बैठक सफल नहुँदा बजेट पास हुन सकेन।
यसअघि मन्त्री गुप्ताले बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा आयोजना गरेको कार्यक्रममा डोकैला बहुअरीको विद्यालय भवन निर्माण, नगरदाहा विद्यालयको भवन निर्माण, र बिश्रामपुरमा कोल्ड स्टोर निर्माणको लागि आवश्यक कागजात तयार गरी मन्त्रालयमा पेस गरिएको बताइएको छ।
बहुदरमाई नगरपालिकामा हालसम्म नगरसभा हुन सकेको छैन। जनप्रतिनिधिहरूबीच बजेटको बाँडफाँड नमिल्दा नगरसभाको मिति अन्योलमा परेको एक नगर कर्मचारीले जानकारी दिए। असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण हालसम्म नगरसभा बस्न सकेको छैन। नगरसभाको अन्योलका कारण सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलब समेत रोकिने सम्भावना बढेको छ।
नगरपालिकाको आन्तरिक विवादकै कारण यो बजेट प्रस्ताव पारित हुने सम्भावना कम देखिएको छ।